close

मोबाइल मनीले पायो स्वीकृति, अब टेलिकमका फोन नम्बरबाटै बिना इन्टरनेट कारोबार

टेकपाना टेकपाना

चैत ५, २०७७ १३:४५

मोबाइल मनीले पायो स्वीकृति, अब टेलिकमका फोन नम्बरबाटै बिना इन्टरनेट कारोबार

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेकाे उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको रुपमा मोबाइल वालेट सञ्चालनका लागि स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताएका छन् । योसँगै उक्त कम्पनीले नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याउने उल्लेख गरिएको छ ।

लामो समयदेखि आवश्यक प्रक्रिया र पूर्वाधार तयार गरी राष्ट्र बैंकबाट स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले अब भने सेवा सञ्चान गर्न पाउने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले अन्य मोबाइल वालेट कम्पनीजस्तै भुक्तानी सेवा प्रदायकको लागि अनुमति प्राप्त गरेको हो । तर, कम्पनीले नेपाल टेलिकमको सिमकार्ड नम्बरलाई नै लिंक गरेर सेवा दिनेछ ।

प्रवक्ता पोखरेलका अनुसार कम्पनीले राष्ट्र बैंकलाई दिएको जानकारीमा एयरटाइम टप–अपलाई प्रयोगमा ल्याउने छ । यसको अर्थ कम्पनीले नेपाल टेलिकमको मोबाइलमा भएको ब्यालेन्सलाई कारोबार रकमको रुपमा समेत प्रयोगमा ल्याउने छ ।

तर, मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ ।

रिचार्जमा दूरसञ्चार सेवा शुल्कलगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो । त्यसका लागि पहिलो चरणमा कम्पनीले युएसएसडी च्यानल प्रयोग गर्ने गरी तयारी गरको उल्लेख छ ।

यूएसएसडी अर्थात हामीले मोबाइल ब्यालेन्स हेर्नका लागि प्रयोग गर्ने कोडजस्तै कोड टाइप गरेको भरमा पनि कारोबार गर्न सकिने छ । यो हुँदा अफलाइन कारोबार हुनेछ । यो एसएमएस जस्तै हो ।

तर, यो एसएमएस भन्दा धेरै नै सुरक्षित हुनेछ । यो भएको खण्डमा फिचर फोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सहजै कारोबार गर्न सक्नेछन् ।

सँगै वालेट पनि उपलब्ध हुनेछ । जुन अनलाइन प्रयोगकर्ताका लागि प्रभावकारी हुनेछ । यसमार्फत प्रयोगकर्ताले विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् । जसमा भुक्तानी सेवाका लागि राष्ट्रिय वाणिज्य बैंक सेटलमेन्ट बैंकको रुपमा रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१