काठमाडौं । ‘द रियल्स सोल्जर्स’ (डीआरएस) गेमिङ कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम बनेको छ । नेपालमा आधिकारिक रुपमा दर्ता भएर पब्जी तथा ईगेमिङलाई व्यावसाियक रुपमा अगाडि बढाउन तम्सेको हो ।
यसक्रममा नेपालकै चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल समेत यो टिममा जोडिएका छन् । लगानी सहित भित्रिएका उनी टिमको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा रहेका छन् ।
‘विश्वमा पछिल्लो समय अनलाइन गेमिङले एकदमै राम्रो गरिरहेको छ,’ सीईओ पौडेलले भने, ‘त्यसैले नेपालमा पनि यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन खोजेका हौं । पब्जीलाई मात्र नभएर हामी फिफा, काउन्टर स्टाइक जस्ता अरु अनलाइन गेमिङलाई समेत साथ दिने गरी अगाडि बढ्छौं ।’
पौडेलका अनुसार डीआरएसमा अनुबन्धित खेलाडीहरुको पारिश्रमिक र सेवा सुविधा फुटबल तथा क्रिकेट खेलाडीहरुको भन्दा कम नभएको दाबी गरे । यद्यपी उनले पारिश्रमिकको विषय स्पष्ट रुपमा खुलाउन भने चाहेनन् ।
सन् २०२० मा अशेष राई र रिजन खत्रीले स्थापना गरेको यो पब्जी टिम पहिलो वर्षमै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको यात्रा तय गर्न सफल भइसकेको छ । उक्त प्रतिस्पर्धामा टोलीले २० औं स्थान प्राप्त गरेको थियो ।
त्यस अघि डीआरएस राष्ट्रिय विजेता तथा साउथ एसियन चरणमा दोस्रो स्थान ओगट्न सफल भएको थियो । स्थापनाको ८ महिनामै अन्तर्राष्ट्रिय रुपमा परिचित यो टोलीले ४१ लाख रुपैयाँभन्दा बढीको पुरस्कार प्राप्त गरिसकेको छ ।
कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरिले रातभर गेम खेलेर छोरो बिग्रिने चिन्ता रहेकोमा अब भने आफू ढुक्क भएको बताए । ‘मलाई यो बिग्रिने कुरा मात्र हो भन्ने लाग्थ्यो,’ उनले भने, ‘तर डीआरएसको कुराले यसबाट पैसा कमाई गर्न सकिन्छ र व्यवसायिक रुपमा अगाडि बढ्न पनि सकिन्छ भन्ने लाग्यो ।’
डीआरएस कम्पनी रजिस्टारमा आधिकारिक रुपमा दर्ता भएसँगै पाँच जना खेलाडीलाई समेत अनुबन्ध गरेको छ । जसमा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।
सङ्गिन भट्टराई टोलीको व्यवस्थापकको रुपमा रहेका छन् । टोलीका खेलाडीहरुलाई आवश्यकता अनुसार विदेशी प्रशिक्षकबाट समेत विशेष प्रशिक्षण गराइने बताइएको छ ।