close

मलेखु बजारका हरेक पसलमा अबदेखि क्यूआरबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत ७, २०७७ ८:३६

मलेखु बजारका हरेक पसलमा अबदेखि क्यूआरबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआरमार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे । उनले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोडसमेत हस्तान्तरण गरे ।

योसँगै मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यस बजारलाई डिजिटल बजारका रुपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको बताए ।

शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंकका तर्फबाट बैंकको सञ्चालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेतआयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुति दिएका थिए ।

कुमारी बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

फाेनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने २ लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१