काठमाडाैं । प्लेन अर्थात हवाई जहाजमा चढ्नासाथ मोबाइललाई एयरप्लेन मोडमा राख्नुपर्छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । तर के तपाईंलाई थाहा छ, यस्तो बेला मोबाइललाई फ्लाइट मोडमा राख्नु किन अनिवार्य हुन्छ ? यदि फ्लाइट मोड अन गरिएन भने फ्लाइटलाई के असर पर्छ ?
प्लेनमा कुनै किसिमको गडबढी उत्पन्न त हुँदैन ? वास्तवमै यसको असर कस्तो हुनसक्छ ? आज हामी तपाईंलाई यसबारेमा बताउँदै छौं ।
प्लेनमा चढेपछि फ्लाइट मोड अन गर्दा पाइलटसँगै तपाईंलाई पनि फाइदा पुग्छ । तर कसरी ? जब प्लेन हावामा टेक अफ लिन्छ, तब पाइलटलाई तल जमिनमा रहेका टावरसँग सञ्चार गर्न सिग्नल प्राप्त हुन्छ ।
त्यसपछिको अवस्थामा जमिनमा हुने टावरहरुले पाइलटहरुलाई आवश्यक दिशा निर्देश गर्दछन् । यस्तो सञ्चार रेडियो फ्रिक्वेन्सीको माध्यमबाट हुने गर्दछ । पाइलटले हेडफोन लगाइरहेको त तपाईंले देख्नु भएकै होला ।
उक्त हेडफोनबाट पाइलटले कन्ट्रोल टावरको निर्देशन सुनिरहेको हुन्छ । जब प्लेनमा रहेको कुनै व्यक्तिले आफ्नो मोबाइलको फ्लाइट मोड अर्थात एयरप्लेन मोड अन गर्छ, तब त्यसमा रहेको सिमकार्डले जमिनमा रहेका मोबाइल टावरहरुको सिग्नल फेला पार्न स्क्यान वा सर्च गर्न थाल्दछ ।
मोबाइलमा हुने यस किसिमको गतिविधिले पाइलट र ग्राउन्ड स्टेसनबीचको सञ्चार सम्पर्कलाई बिगार्न वा असर पार्न थाल्दछ । अर्थात उक्त सञ्चार सम्पर्कलाई अवरुद्ध पार्ने कोशिश गर्दछ ।
जसले गर्दा पाइलटको हेडफोनमा तल ग्राउन्ड स्टेसनको कन्ट्रोल रुमको आवाजको साटो तपाईंको मोबाइलको फ्रिक्वेन्सी अवरोधले झिरझिर आवाज आउन थाल्दछ ।
जब प्लेनमा बसेका जति धेरै यात्रुहरुले आफ्नो मोबाइल फोनमा एयरप्लेन मोड अन गरेका हुन्छन्, त्यसले त्यतिनै मात्रामा पाइलट र कन्ट्रोल टावरबीचको सञ्चारलाई अवरोध गर्दै जान्छ अनि पाइलटले प्राप्त निर्देशन सुन्नै नसक्ने अवस्था आउँछ ।
यसबाट पाइलटले अगाडिको मौसम कस्तो छ, कुनै अर्को फ्लाइट गइरहेको त छैन यस्ता निकै महत्वपूर्ण सूचना पाइलटको कानसम्म पुग्न पाउँदैनन् । प्लेन चलाउने पाइलटको मात्र होइन, फ्लाइट सुरक्षित र सही दिशामा उचित रुपमा उड्नका लागि ग्राउन्ड स्टेसनमा हुने कन्ट्रोल रुमको समेत महत्वपूर्ण भूमिका हुने गर्दछ ।
यसबाहेक तपाईंको मोबाइलमा टावरको सिग्नल सर्च गर्ने क्रममा तात्ने समस्या पनि देखिन थाल्दछ । यी दुवै कारणले गर्दा फोनमा एयरप्लेन मोड राखिएको हुन्छ र उडानका दौरान त्यसलाई अन गर्नुपर्ने नियम बनाइएको हो ।