काठमाडौं । आजकल यस्ता धेरै एप्लिकेसन र वेबसाइटहरु हुन्छन्, जसले तपाईंको पासवर्ड सेभ गर्ने अनुमति माग्दछन् । अनि त्यस्ता धेरै प्रयोगकर्ता छन् जसले मोबाइल तथा ल्यापटपको ब्राउजरमा आफ्नो पासवर्ड सेभ गर्ने अनुमति दिइरहेका हुन्छन् ।
यदि समय बचाउन तपाईं यसो गर्दै हुनुहुन्छ भने सचेत रहन जरुरी छ । यसबाट तपाईंको अकाउन्ट ह्याक हुने सम्भावना रहन्छ । यसका साथै जब तपाईं आफ्नो मोबाइल वा कम्प्युटर कुनै साथी वा चिनजानको व्यक्तिलाई दिनुहुन्छ, उसले यसरी सेभ गरिएका पासवर्ड सहजै हेर्न सक्छ ।
इन्टरनेटमा तपाईं जे देख्नुहुन्छ, त्यसलाई सही ठान्नुहुन्छ । तर कम्प्युटर बुझेको वा यस सम्बन्धी जानकारी भएको व्यक्तिले भने इन्टरनेटमा देखिने सबै सामग्रीलाई सही सत्य मान्दैन ।
किन भने इन्टरनेटमा तपाईं जे देख्नुहुन्छ वा तपाईंलाई जे देखाइएको हुन्छ, त्यो सही नै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले याद राख्नुहोस् कसैलाई नराम्रो देखाउने, कुनै व्यक्ति वा समुदायप्रति घृणा फैलाउन वा कुनै व्यक्ति, वस्तु वा कम्पनीको बारेमा बढाई चढाई प्रस्तुत गर्ने काम भइरहेको हुनसक्छ ।
त्यसैले इन्टरनेटमा देखिने फोटो, पोस्ट, भिडियो, राजनीतिक विषयवस्तु आदि जस्ता विषयहरु देखेर त्यसैको आधारमा कसैप्रतिको धारणा बनाउँदा वा मूल्याङ्कन गर्दा गल्ती हुनसक्छ एकदमै सचेत रहनुहोस् ।
अनलाइनमा हुने कुनै पनि सामग्री छनौट गर्दा तपाईं पक्कै पनि त्यसमा भएका रेटिङ तथा कमेन्टहरु पढ्नुहुन्छ । धेरै प्रयोगकर्ताको एउटा सामान्य बुझाई हुन्छ, चार तारा (फोर स्टार) माथिको रेटिङ प्राप्त सामग्री पक्कै पनि राम्रो हुन्छ ।
तर यो साँचो होइन । किन भने कतिपय यस्ता समग्री हुन्छ जसको रेटिङ निकै राम्रो हुन्छ । तर रेटिङ जस्तै ती सामग्री वास्तवमै राम्रा भने हुँदैनन् । यसको पछाडि बिक्रेताले फेक रिभ्यू र कमेन्ट राख्न लगाइरहेका हुन्छन् ।
यसको अर्थ अनलाइनमा हुने सबै रेटिङ र कमेन्टहरु गलत हुन्छन् भन्ने पनि होइन । त्यसैले रेटिङको आधारमा कुनै अनलाइनमा भएका प्रडक्ट छनौट गर्नु अघि राम्रोसँग बिचार गर्नुहोस् ।
सामाजिक सञ्जालमा खासगरी महंगा मोबाइलहरु सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै विज्ञापन भइरहेको हुन्छ । यदि नपत्याउने गरी सस्तो मूल्यमा कसैले सामान बिक्री गरिरहेको छ भने हतारमा लोभ नगर्नुहोस् । तपाईं ठगीको शिकार बन्न सक्नुहुन्छ ।
फेसबुकमा कतिपय यस्ता म्यासेज तथा ईमेलहरु आइरहेका हुन्छन् जसमा भनिएको हुन्छ तपाईंले यति डलर वा रुपैयाँको लट्री जित्नुभएको छ । वा तपाईंले नयाँ आईफोन पाउनु भएको छ ।
अनि त्यसमा पुरस्कार वा लट्री प्राप्त गर्नका लागि निश्चित प्रक्रिया पनि बताइएको हुन्छ । यस्तोमा तपाईं भने झुक्किने गल्ती गर्दै नगर्नुहोस् ।
अहिलेको समयमा कसैले पनि निःशुल्क रुपमा तपाईंलाई कुनै पनि चिज त्यसै दिँदैन । यस किसिमका कार्य अनलाइनमा ठगीको चंगुलमा पार्ने उद्देश्यका साथ भइरहेका हुन्छन् ।
त्यसैले लोभ वा प्रलोभनमा परेर यस्ता कुराको पछि नलाग्नुहोस् । सामाजिक सञ्जालमा केही यस्ता स्वघोषित इन्फ्लुएन्सर हुन्छन्, जसले कुनै निश्चित एप प्रयोग गरेर वा गेम खेलेर आम्दानी गर्न सकिने भन्दै उक्साइ रहेका हुन्छन् ।
यस्ता कुराहरुमा पनि तपाईंले पटक्कै विश्वास गर्नुहुँदैन । एपको ग्राफमा देखाइएको छ भन्दैमा पैसा कमाई हुने भ्रममा नपर्नुहोस् । अहिलेको समयमा पैसा कमाउन त्यति सहज छैन ।
त्यसैले तपाईंलाई जानकारी नभएको कुनै पनि ग्याम्बलिङ, ट्रेडिङ वा गेमिङ एपको विषयमा त्यसरी प्रचार गरिएको छ भने त्यस्तो एप डाउनलोड वा इन्स्टल नगर्नुहोस् । साथै यस्ता एपमा आफ्नो व्यक्तिगत जानकारी राख्ने वा पैसा लगाउने भूलबाट टाढा रहनुहोस् ।
पक्कै पनि तपाईं बजारमा गएर विभिन्न सामानहरु खरिद गरिरहनु भएको हुन्छ । तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ भने आफूले कुनै इलेक्ट्रोनिक सामग्री वा मोबाइल, ल्यापटप, टिभी, रेफ्रिजेरेटर आदि किन्नु अघि त्यसबारेमा राम्रोसँग सर्च गर्न नभुल्नुहोस् ।
किन भने बजारमा बिक्रेताले तपाईंलाई अनावश्यक र कमसल किसिमका सामग्री भिडाइदिन सक्छन् । त्यतिमात्र होइन तपाईं मूल्यको हिसाबले समेत चर्कोमा पर्न सक्नुहुन्छ । इन्टरनेटमा तपाईंले केहीबेर गर्ने सर्चले तपाईंलाई सही सामान छनौट गर्ने निर्णय लिन निकै ठूलो मद्दत पुर्याउन सक्छ ।