close

गुगलमा सेभ गरिएको कन्ट्याक्ट नम्बर डिलिट भयो ? यसरी गर्नुहोस रिस्टोर

टेकपाना टेकपाना

चैत १२, २०७७ ११:४५

गुगलमा सेभ गरिएको कन्ट्याक्ट नम्बर डिलिट भयो ? यसरी गर्नुहोस रिस्टोर

काठमाडौं । हाम्रो मोबाइलमा हुने एउटा महत्वपूर्ण सम्पत्ति भनेको कन्ट्याक्ट नम्बर पनि हो । लामो समय लगाएर आफ्ना आफन्त, साथिभाइ तथा आफ्नो व्यवसायसँग सम्बन्धत व्यक्ति र संस्थाको सम्पर्क नम्बर संकलन गरेर राखिएको हुन्छ ।

मोबाइल सेट र सिमकार्डमा सीमित सम्पर्क नम्बरमात्रै सेभ गर्न सकिने भएकाले हामीमध्ये धेरैले गुगल कन्ट्याक्टमा मोबाइल नम्बर सेभ गरेर राख्छाैं । त्योभन्दा पनि हामीले सधैं एउटै मोबाइल बोकी राख्छौ भन्ने हुँदैन । समय समयमा मोबाइल सेट परिवर्तन गर्नुपर्ने हुन्छ ।

मोबाइल हराएकाे अवस्थामा कम्प्युटर तथा ल्यापटपमार्फत पनि कन्ट्याक्ट नम्बरमा एक्सेस गर्न सक्छौं । त्यसैले पनि पछिल्लो समय गुगल कन्ट्याक्ट सबैको रोजाइमा परिरहेको छ ।

सहजताले गर्दा सबैको रोजाइमा पर्ने गरेको भएता पनि हामीलाई थाहा छ, सबैको आफ्नो राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् । गुगलमा सेभ गरिएका सम्पर्क नम्बर कहिलेकाहिँ आफैं डिलेट हुने, हराउने गरेका घटना पनि छन् ।

कहिलेकाहिँ गुगलका विभिन्न सेटिङ चलाउँदा चलाउँदै आफूलाई थाहै नपाई डिलिट भइसकेको हुनसक्छ । त्यस्तो अवस्थामा कतिपय महत्वपूर्ण सम्पर्क नम्बर हामीले गुमाउन सक्छौं ।

त्यसैले यहाँ हामी यदि गुगलमा सेभ भएका नम्बर हराएको वा डिलिट भएको खण्डमा कसरी रिस्टोर गर्ने अर्थात पुनः प्राप्त गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

त्योभन्दा अघि सुरुमा तपाईंले गुगलमा सेभ गरेर राख्नुभएको कन्ट्याक्ट नम्बरलाई कसरी फाइलमा एक्सपर्ट गर्ने भन्ने सिकाउँदै छौं ।

  • सुरुमा तपाईंको एन्ड्रोइड फोन तथा ट्याब्लेट खोल्नुहोस र गुगलको कन्ट्याक्ट एप खोल्नुहोस् ।
  • दाँया साइडको माथि रहेको मेन्युमा क्लिक गर्नुहोस् । त्यसभित्र सेटिङ अप्सनमा क्लिक गरी म्यानेज कन्ट्याक्ट सेक्सनमा रहेको ‘एक्सपर्ट’ मा क्लिक गर्नुहोस् ।
  • कुन गुगल अकाउन्टमा भएको कन्ट्याक्ट नम्बर एक्सपर्ट गर्ने हो छनोट गुर्नहोस् । तपाईंले एकै पटक धेरै एकाउन्ट छनोट गरी पनि कन्ट्याक्ट एक्सपर्ट गर्न सक्नुहुनेछ ।
  • अब अन्त्यमा ‘एक्सपर्ट टु भीसीएफ फाइल’ मा क्लिक गरी कन्ट्याक्ट मोबाइल तथा ट्याब्लेटको स्टोरेजमा सेभ गरेर राख्न सक्नुहुनेछ ।


यो त थियो गुगलमा भएको कन्ट्याक्टलाई मोबाइलमा फाइलको रुपमा सेभ गर्ने तरिका । अब यहाँ हामी तपाईंलाई कन्ट्याक्ट नम्बर कसरी ब्याकअप गर्ने भन्ने सिकाउँदै छौं । ब्याकअपका लागि तपाईंले सुरुमा मोबाइल सेट गर्दा नै गुगलले ब्याकअपका लागि सोध्ने गर्छ ।

यदि त्यो समयमा तपाईंले ब्याकअप अन गर्नुभएको छैन भने तपाईंले सेटिङमा गएर पनि ब्याकअप अन गर्न सक्नुहुनेछ ।

  • सुरुमा मोबाइलको ‘सेटिङ’ खोल्नुहोस् ।
  • अब त्यहाँ ‘सिस्टम’ मा क्लिक गरी ‘ब्याकअप’ मा क्लिक गर्नुहोस् ।
  • अब ‘ब्याक अप टु गुगल ड्राइभ’ मा क्लिक गरी ब्याकअप अन गर्नुहोस् ।

अहिलेसम्म हामीले तपाईंहरुलाई गुगलमा भएको कन्ट्याक्टलाई मोबाइलमा फाइलको रुपमा कसरी सेभ गर्ने र कसरी ब्याकअप गर्ने भन्ने विषयमा जानकारी दियौं ।

अब तपाईंले ब्याकअप गरेर राख्नुभएको कन्ट्याक्ट नम्बरलाई कसरी ‘रिस्टोर’ गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

  • सुरुमा मोबाइलको फोन सेटिङ खोल्नुहोस् ।
  • सेटिङभित्र रहेको ‘गुगल’ मा क्लिक गर्नुहोस् ।
  • अब त्यहाँ रहेको ‘सेट अप एण्ड रिस्टोर’ मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ ‘रिस्टोर कन्ट्याक्ट’ भन्ने अप्सन रहेको छ, त्यसमा क्लिक गर्नुहोस् ।
  • यदी तपाईंको मोबाइलमा धेरै एक भन्दा बढी गुगल अकाउन्ट लगइन छ भने गुगल अकाउन्ट छनोट गरी त्यसमा भएको कन्ट्याक्ट नम्बर रिस्टोर गर्न चाहनुहुन्छ भने त्यहाँ सुरुमा रहेको ‘फ्रम कन्ट्याक्ट’ मा क्लिक गर्नेबित्तिकै तपाईंको डिभाइसमा लगइन भएका गुगल अकाउन्टहरू देखा पर्नेछन् । त्यसमध्ये कुन अकाउण्टको रिस्टोर गर्ने हो छनोट गर्नुहोस् ।
  • अब त्यहाँ रहेको ‘कन्ट्याक्ट टु कपी’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • यदि तपाईं तपाईंको सिमकार्ड र मोबाइल सेटमा रहेको कन्ट्याक्टलाई कपी गर्न चाहनुहुन्न भने तपाईंले सिमकार्ड र डिभाइस स्टोरेजलाई अफ गरी रिस्टोर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१