close

ललितपुरका सडकमा उज्यालो अनुसार स्वतः बल्ने-निभ्ने स्मार्ट बत्ती

टेकपाना टेकपाना

चैत १६, २०७७ १५:२१

ललितपुरका सडकमा उज्यालो अनुसार स्वतः बल्ने-निभ्ने स्मार्ट बत्ती

काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका सडकमा स्वचालित प्रविधियुक्त स्मार्ट बत्ती राखिएका छन् । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडकमा आफैं बल्ने र निभ्ने प्रविधियुक्त ६६९ वटा स्मार्ट बत्ती जडान गरेको हो ।

महानगर प्रवक्ता राजु महर्जनका अनुसार बागमती पुल सडकबाट जावलाखेल, लगनखेलहुँदै सात दोबाटोसम्म, पाटन ढोका, मंगलबजारहुँदै लगनखेलसम्म र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म स्मार्ट बत्ती जडानको काम सम्पन्न भइसकेको छ ।

स्मार्ट बत्तीका लागि सोलार बत्तीभन्दा कम खर्च लाग्ने बताइएको छ । ‘उज्यालोपनको आधारमा यी बत्तीहरु आफैं बल्ने र निभ्ने गर्दछन्,’ प्रवक्ता महर्जनले भने, ‘त्यतिमात्र होइन, मान्छेको चहलपल घट्दै जाँदा त्यसलाई सेन्स गरेर ६० वाट खपत गर्ने बत्ती ४० वाट हुँदै २० वाटसम्ममा सीमित हुन्छ ।’

कम ऊर्जा खपत गर्दा पनि गाडीहरुको नम्बर प्लेट सीसीटीभीमा देखिनेसम्मको उज्यालो कायम हुन्छ । महानगरभित्रका सम्पूर्ण स्मार्टबत्तीको नियन्त्रण महानगरपालिका कार्यालयमा रहेको कन्ट्रोलरुमबाटै हुन्छ ।

परियोजनाका लागि आवश्यक लागत र व्यवस्थापनको काम महानगरले गरिरहेको छ । यसको डीपीआर बनाउनेदेखि सम्पूर्ण प्राविधिक कार्य भने प्राधिकरणले गरेको हो ।

विद्युत महशुल समेत मासिक रुपमा महानगरले नै तिर्ने प्रवक्ता महर्जनको भनाई छ । स्मार्ट बत्तीसँगैसँगै सीसीटीभी समेत जडान गर्दै लगिनेछ ।

बत्ती जडानका लागि कूल पाँच करोड २० लाख रुपैयाँ छुट्याइएको छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले यी बत्ती सोलार बत्तीभन्दा निकै प्रभावकारी रहेको बताए । ‘महानगर झिलिमिली भएको छ,’ उनले भने ।

दोस्रो चरणमा बुङमति, खोकना, सुनाकोठी, धापाखेल, हरिसिद्धिमा समेत यस्ता बत्ती जडान गर्ने महानगरको योजना छ । त्यसपछि क्रमशः रिङरोडभित्रका बाँकी स्थानमा समेत स्मार्ट बत्ती विस्तारको काम हुनेछ ।

‘यो परियोजना अर्को आर्थिक वर्षमा पनि क्रमशः रुपमा अगाडि बढाउँदै छौं,’ उनले भने, ‘समग्रमा कति बत्ती आवश्यक हुन्छ, अहिले नै यकिन साथ भन्न सकिने अवस्था भने छैन ।’

मूख्यतः यी स्मार्ट बत्तीले खर्च र ऊर्जा खपत कम गर्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत महत्वपूर्ण हुने महानगरले जनाएको छ । त्यसका साथै सवारी दुर्घटना र अपराधका घटनामा समेत यसले कमी ल्याउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३