काठमाडौं । कोभिड १९ का कारण यो वर्षको सुरुवात लकडाउन र सामाजिक दूरी कायम गर्दै बित्यो । जसको असर हरेक क्षेत्रमा पर्नु स्वभाविक नै हो । तर, त्यसमध्ये पनि शिक्षा क्षेत्रमा परेको असर अहिलेसम्म देखा परिरहेको छ ।
कोभिडका कारण अस्तव्यस्त बनेको शैक्षिक सत्रलाई यसपाली चैतको सट्टा जेठसम्म लम्ब्याउने सरकारी तयारी छ । सबैजसो विद्यालय माघ महिनायता खुलेपनि पाठ्यक्रम सकिने अवस्था नभएपछि यसरी शैक्षिक सत्रलाई लम्ब्याउनुपर्ने अवस्था आइपरेको हो । यस्तोमा यो चार दिनको बिदा अझ बोझ बनेको छ ।
शिक्षा मन्त्रालयले हावामा प्रदुषण देखिएकाले विद्यार्थीकाे स्वास्थ्यमा पर्ने प्रतिकूल असर रोक्न सोमबारदेखि ४ दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्यो । उक्त निर्णयबाट विद्यार्थी रमाएता पनि विद्यालयका लागि भने टाउको दु:खाईको विषय बन्यो ।
एकातर्फ विद्यार्थीलाई पढाउनुपर्ने कोर्ष सक्न मुस्किल भइरहेको अवस्थामा सरकारको यो निर्णयले विद्यालयलाई अझ बोझ थप गरिदिएको छ ।
यसले विद्यालयलाई आफूले लकडाउनको समयमा प्रयोगमा ल्याएको भर्चुअल क्लास र त्यसका लागि प्रयोग गरिएको प्रविधिलाई पुनः एकपटक सम्झिन बाध्य बनाएको छ ।
विद्यालय माघ महिनायताबाट खुलेसँगै अनलाइन सिस्टमलाई बिर्सिएर पुनः नियमित कक्षा सञ्चालन गरिरहेका कतिपय विद्यालयले सरकारको चार दिन बिदाको निर्णयसँगै सिस्टम उपलब्ध गराउने कम्पनीलाई फोन गरेर आफ्नो सिस्टम चलिरहेको त छ ? भनेर प्रश्न गर्न भ्याए ।
स्कुलहरुलाई अनलाइन प्लेटफर्म उपलब्ध गराउँदै आएको ‘वेद’ र इन्ग्रेल्स प्रालिका सहसंस्थापक तथा सीईओ सुजित पाठक भन्छन्, ‘हामीले सिस्टम उपलब्ध गराइरहेका केही विद्यालयलबाटै यस्ता खालका प्रश्न उठेका छन् ।’
यस्ता प्रश्न उठ्नु कत्तिको जायज हो त ? त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डाक्टर सुवर्ण शाक्य भन्छन, ‘हामी प्रविधिसँग निरन्तर घुलमिल हुन नचाहँदा यस्तो खालको समस्या देखापरेको हो । विद्यालयमा विद्यार्थी स्वयम् उपस्थिति भएर पठनपाठन गर्ने काम सुरु भएसँगै प्रविधिलाई आत्मासाथ गर्नुहुँदैन भन्ने सोचका कारण यस्ता प्रश्न उठ्ने गरेका हुन् ।’
तर, अबको शिक्षा पद्धति भने प्रविधिबिनाको कल्पना गर्न सकिने अवस्थामा छैन । होला हामी अहिले सामान्य दैनिकीमा फर्किएका छौं । यो भन्दैमा कोभिडको त्रास समाप्त भएको भन्ने होइन ।
कोभिडको अझ भयावह अवस्था विश्वबजारमा देखा परिरहेको छ । शाक्य भन्छन, ‘कोभिडले हामीलाई प्रविधिको उपयोग गर्न सिकाएको छ । उक्त सिकाईलाई अबको पाटो बनाउन आवश्यक छ ।’
आज ४ दिन विद्यालय बन्द हुँदा हामीले प्रविधिलाई सम्झिएर फर्किनुपर्ने अवस्था आयो भने भोलिका दिनमा फेरि अवस्था असामान्य नहोला भन्ने सकिँदैन । त्यो दिनलाई पनि सम्झिएर पनि हामीले निरन्तर प्रविधिको प्रयोगलाई आत्मासाथ गर्नुपर्ने उनी बताउँछन् ।
तर, त्यसका लागि विद्यालयका साथै सरकारको तर्फबाट पनि कदम चाल्नुपर्ने देखिन्छ । शाक्य भन्छन, ‘हाम्रो पढाईको प्रणााली नै कक्षामा विद्यार्थी उपस्थिति भएर शिक्षकले अगाडि बोर्डमा लेखेर सिकाउने खालको छ । त्यसैले सरकारले पनि अनलाइन पद्धतिलाई आत्मासाथ गर्नसक्ने गरी व्यवस्था गर्न जरूरी भइसक्याे ।’
कोभिडको समयका लागि सरकारले जसरी अनलाइन शिक्षालाई प्रोत्साहन गरेको थियो । त्यो खालको शिक्षाका लागि सरकारले कानूनी व्यवस्था अघि बढाउन आवश्यक छ । त्यो भएको खण्डमा जस्तोसुकै अवस्थामा पनि अनलाइन शिक्षालाई आत्मासाथ गर्न सकिने शाक्य बताउँछन् ।
यसले विद्यालयका साथै विद्यार्थी र अविभावकलाई समेत प्रविधिसँग निरन्तर जोडिराख्न मद्धत पुर्याउने उनकाे तर्क छ । उनी भन्छन, ‘प्रविधि र पद्धति दुवैलाई सँगै लगेको खण्डमा त्यसले विद्यार्थीको सिकाईमा पनि राम्रो हुँदै जाने छ भने विद्यालयले पनि आफूलाई विस्तारै प्रविधिमैत्री विद्यालयको रुपमा चिनाउन मद्धत पुर्याउने छ ।’
अहिले नेपालमा विद्यालयलाई अनलाइनबाटै परीक्षाको नतिजा सार्वजनिक गर्न सक्ने, अनलाइनबाटै होमवर्क दिन सक्ने, दिएको होमवर्क अनलाइनबाटै जाँच गर्न सकिने खालको सिस्टम उपलब्ध भइसकेको वेदका संस्थापक पाठक सुनाउँछन् ।
पाठक भन्छन, ‘यस्तो सेवा दिने हामीमात्रै एक भन्ने पनि होइन । नेपालमा अन्य कम्पनी छन, जसले विद्यालयमा उपस्थित नै नभई पूर्णरुपमा कक्षा सञ्चालन गरी विद्यार्थीको परीक्षाको नतिजासम्म प्रकाशन गर्नसक्ने सुविधा उपलब्ध छ ।’
यतिसम्म कि शिक्षकले अनलाइन सिस्टमबाटै आगामी वर्षका लागि आवश्यक पर्ने लेसन प्लान, कोर्ष प्लान, विद्यार्थीको रिपोर्टलगायतको सम्पूर्ण काम गर्न सक्ने लगायतका सुविधा उपलब्ध भएको उनी सुनाउँछन् ।
जसको प्रतिफल सरकारले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेता पनि वेद प्रयोग गरिरहेका धेरै विद्यालयले यसैमार्फत निरन्तर कक्षा सञ्चालन गर्न सफल भएको पाठक सुनाउँछन् ।
उनी भन्छन, ‘सिस्टममा अभिभावकले आफ्ना बालबालिकाको सिकाईको अवस्था के छ ? आफ्ना बालबालिकाको पढाईमा कस्तो खालको सुधार भइरहेको छ । छोराछोरी कुन विषयमा कमजोर र कुन विषयमा राम्रा छन् भनेर सिस्टमबाटै हेर्न सकिन्छ । यसले विद्यालय र अभिभावकबीचमा हुने ग्यापलाई पनि कम गर्न मद्धत पुर्याइरहेको छ ।’