close

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

बैशाख ३, २०७८ ७:१२

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसमाथि ‘सइबर हमला र अन्य शत्रुतापूर्ण कार्य’को आरोप लगाउँदै प्रतिबन्धहरूको घोषणा गरेको छ ।

ती प्रतिबन्धहरूले दर्जनौँ रुसी संस्थाहरू र अधिकारीहरूलाई निसानामा पारेको छ ।

ह्वाइटहाउसले “रुसको हानिकारक वैदेशिक गतिविधिहरू” रोक्नु उक्त प्रतिबन्धको उद्देश्य रहेको बताएको छ ।

वक्तव्यमा गत वर्षको ठूलो “सोलारविन्डस्” ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ ।

त्यस्तै २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप त्यसमा लगाइएको छ ।

रुसले ती आरोपहरू अस्वीकार गरेको छ र भनेको छ- उसले त्यस्तै प्रकारले प्रतिउत्तर दिनेछ ।

बिहीवार घोषित प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ ।

यसले अब दुई महाशक्ति राष्ट्रहरू तनावपूर्ण सम्बन्धको अवस्थामा पुगेका छन् ।

गत महिना क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रुसी अधिकारीहरू र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको थियो ।

मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको ‘बलियोसँग’ रक्षा गर्ने प्रतिज्ञा गरेका थिए ।

तर त्यसबेला उनले सहकार्यका क्षेत्रहरूको पहिचान गर्न र सँगै काम गर्नका लागि पुटिनसँग भेटको प्रस्ताव पनि गरेका थिए ।

प्रतिबन्धहरू घोषणा भएलगत्तै रुसी विदेश मन्त्रालयले त्यसलाई “खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम” भनेको छ ।

उसले यस्तोखाले आक्रामक व्यवहारको निर्णायक प्रतिउत्तर दिने जनाएको छ ।

रुसी विदेश मन्त्रालयले मस्कोस्थित अमेरिकी दूतलाई बोलाएको छ ।

यूरोपेली सङ्घ, नेटो र यूकेले अमेरिकी प्रतिबन्धको समर्थनमा वक्तव्य निकालेका छन् । -बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१