काठमाडौं । पुरस्कार अथवा चिट्ठाको प्रलोभन देखाएर बैंक ठेगाना माग्ने अनि त्यसैको आधारमा खाताबाट पैसा निकाल्नेजस्ता ‘फिशिङ’ का घटना नेपालमा पनि सुनिन थालेका छन ।
झट्ट हेर्दा पत्यार लाग्नेजस्ता इमेल, फोन अथवा म्यासेजबाट आउने सन्देशहरु तपाईको सहयोगका लागि नभई तपाइसम्म पहुच बनाएर फाइदा लिने तरिकाहरु हुन् । साइबर हमलामार्फत क्षति पुर्याउने लक्ष्य फिशिङ गर्नेहरु हुन्छ ।
साइबर जालमा पार्ने काम नै फिशिङ हो । नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङका यस्ता घटनाबाट सुरक्षित रहने केही उपाय सुझाएको छ । प्राधिकरणले पुरस्कार अथवा चिट्ठाको लोभ देखाएर आउने इमेल अथवा फोनकललाई रेस्पोन्स नगर्न आग्रह गरेको छ ।
अपरिचित व्यक्ती तथा ठेगानाबाट आएको इमेल नखोल्न, इमेल सङ्गै रहेको अट्याचमेन्ट र लिङ्क नहेर्न पनि प्राधिकरणले सुझाव दिएको छ । त्यस्ता इमेललाई तत्काल ब्लक अथवा डिलिट गर्न प्राधिकरणले आग्रह गरेको छ ।
इमेल रेस्पोन्सनै गर्नुपर्ने अवस्थामा ब्राउजरमा वेब ठेगाना टाइप गरेर मात्र गर्नु उपयुक्त हुने प्राधिकरणले उल्लेख गरेको छ । अनावश्यक मेलिङ लिस्ट सब्स्क्राइब नगर्न, सब्स्क्राइब गरेको अवस्थामा अनसब्सक्राइब गर्न र वेबसाइट राम्रोसङ्ग पहिचान नगरी आफूसङ्ग सम्बन्धित डेटा उपलब्ध नगराउन पनि प्राधिकरणले सुझाएको छ ।