close

अन्तर्राष्ट्रिय कल र आईटी सेवाबाट ८ महिनामै करिब १० अर्ब नाफा

टेकपाना टेकपाना

बैशाख ३, २०७८ १८:१९

अन्तर्राष्ट्रिय कल र आईटी सेवाबाट ८ महिनामै करिब १० अर्ब नाफा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलमार्फत गर्ने आम्दानी र कम्प्युटर लगायतका विभिन्न सूचना प्रविधिसम्बन्धित सेवामार्फत विगत ८ महिनाको अवधिमा करिब १० अर्ब नाफा कमाएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी नेपालका दूरसञ्चार कम्पनीले अन्तर्राष्ट्रिय कलमार्फत गर्ने आम्दानीको हिस्सा बढी रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ को पहिलो आठ महिनामा टेलिकम्युनिकेशन, कम्युटर र इन्फरमेशन सर्भिसको नाममा करिब १० अर्ब अर्थात ९ अर्ब ६० करोड खुद नाफा भएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकले जारी गरेको उक्त तथ्याङ्कमा दूरसञ्चार कम्पनीले अन्तराष्ट्रिय कल तथा विभिन्न सेवामार्फत गरेको आम्दानी र सेवाप्रदायकले विदेशी कम्पनीलाई तिरेको मूल्य समेटिएको छ । जसमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको ठूलो हिस्सा रहेको छ ।

उक्त अवधिमा कुल १० अर्ब ८४ करोडको हाराहारीमा आम्दानी भएको यो क्षेत्रमा खुद मुनाफा ९ अर्ब ६० करोड भएको हो । यसअन्तर्गत नेपालबाट बाहिर कल गर्दा सेवा प्रदायकले बाहिरी सेवा प्रदायकको नेटवर्क प्रयोग गरेबापत बुझाउनुपर्ने रकम तथा सर्भिस खरिद गरेबापत उनीहरुले १ अर्ब २५ करोडको हाराहारीमा बुझाएका छन् ।

यो हुँदा आव २०७७/०७८ को पहिलो आठ महिनामा टेलिकम कम्पनी तथा कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धीत सेवा प्रदायकले ९ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २४ प्रतिशतले कम हो । आव २०७६/०७७ को पहिलो आठ महिनामा यो क्षेत्रमा १३ अर्ब ३७ करोड आम्दानी भएको थियो ।

सेवाप्रदायकले उक्त समयमा ७५ करोड ४० लाख मात्रै बुझाएका थिए । त्यो हुँदा उक्त आवको पहिलो आठ महिनामा सेवाप्रदायकले १२ अर्ब ६२ करोड खुद नाफा गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१