close

‘सूचना प्रविधिलाई प्राथमिकता नदिए देश नै पछि पर्छ’

टेकपाना टेकपाना

बैशाख ४, २०७८ १६:१३

‘सूचना प्रविधिलाई प्राथमिकता नदिए देश नै पछि पर्छ’

काठमाडौं । अर्थ मन्त्री विष्णु पाैडेलले सूचना प्रविधिलाई प्राथमिकता नदिए देश नै पछि पर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रविधि क्षेत्रमा रहेका चुनाैतीकाे समाधानका लागि सरकार सकारात्मक रहेकाे धारणा राखे ।

‘सूचना प्रविधि हामीले जति बुझेका र अभ्यास गरेका छौं, त्योभन्दा धेरै फराकिलो छ,’ मन्त्री पौडेलले भने, ‘विज्ञानले नयाँ नयाँ आविष्कार गर्दै जाने क्रममा यसको महत्वलाई अझ बढाएको छ । त्यस अर्थमा यो क्षेत्रमा हामी पछि परेको खण्डमा हाम्रो राष्ट्रिय हैसियत नै पछि पर्नेछ । त्यसैले त्यो अनुसारको योजना हामीले बनाउन आवश्यक छ भन्ने सरकारले बुझेको छ ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयाेजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेटमा कर बढी छ भने छलफलका लागि आफू तयार रहेको बताए ।

पछिल्लाे समय नेपालको दूरसञ्चार क्षेत्रमा करको विषय सधैं चर्चाको विषय बन्दै आएको छ । मदिराजन्य उत्पादनमा भन्दा बढी कर इन्टरनेटमा लगाउने गरेको भन्दै दूरसञ्चार सेवा प्रदायकले बारम्बार आवाज उठाउँदै आएका छन् ।

‘यहाँ दुई वटा तथ्य प्रस्तुत भएको छ’, कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘पहिलो इन्टरनेट ल्याएर ग्राहकको घरसम्म पुग्दा १० ठाउँमा कर लाग्छ । अर्को नेपालको इन्टरनेट विश्वका अन्य मुलुकको तुलनमा सस्तो रहेको पनि यहाँ उल्लेख भएको छ । यदि यस्तो हो भने, करको विषयमा परिमार्जनका लागि तपाईं सरोकारवालसँग बसेर छलफल गर्न म तयार छु ।’

मन्त्री पौडेलले मन्त्रालय हाल बजेट निमार्णको क्रममा रहेकाले यो क्षेत्रको सुझावलाई पनि समेट्न सकिने बताएका छन् । उनले हालसम्म अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदनका विषयमा तथ्यपरक सूचना नभएकाले यो विषयमा अध्ययन अघि बढाउनुपर्ने पनि बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१