close

३ महिने बेसिक कम्प्युटर कोर्षको प्रमाणपत्र नहुँदा इन्जिनियरको आवेदन खारेज !

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १६:७

३ महिने बेसिक कम्प्युटर कोर्षको प्रमाणपत्र नहुँदा इन्जिनियरको आवेदन खारेज !

काठमाडौं । भन्सार विभागले खुलाएकाे भन्सार एजेन्ट पदका लागि ४ वर्षकाे इन्जिनियरिङ तह उत्तीर्ण आवेदकहरुको आवदेन भटाभट अस्वीकृत भएकाे पाइएकाे छ ।

विभागले तीन महिने आधारभूत कम्प्युटर प्रशिक्षणको प्रमाणपत्र नभएको भन्दै विभिन्न इन्जिनियरिङ विषयहरूमा उत्तीर्ण आवदेकलाई ‘अयाेग्य’ ठहर्‍याएकाे हाे । 

आवेदन खारेज हुनेमा त्रिवि इन्जिनियरिङ संस्थानबाट सम्बन्धनप्राप्त एडभान्स कलेज अफ इन्जिनयरिङबाट स्नातकमा इन्जिनियरिङ उत्तीर्ण धिरज प्याकुरेल पनि परेका छन् । 

धिरजलगायत उनीसँगै बीई उत्तीर्ण गरेका केही साथीहरुले साे पदका लागि अनलाइन आवदेन भरेका थिए ।

तर, सबैजनाको आवेदन एकाएक अस्वीकृत भयो । कारण बुझ्दा ती उनीहरुले तीन महिने आधारभूत कम्प्युटर कोर्सकाे प्रमाणपत्र पेश गरेका थिएनन् ।

त्यसको सट्टा उनीहरुले कम्प्युटरका विभिन्न एड्भान्स कोर्स तथा बीई उत्तीर्ण गरेकाे प्रमाणपत्र पेश गरेका थिए ।

‘भन्सार कार्यलयबाट भन्सार एजेन्ट पदका लागि दर्खास्त आह्वान खुलेको थियो । त्यसमा म लगायत मेरा केही साथीहरुले फर्म भरेका थियौं । हामी सबैले बीई पुरा गरेका छौं । यसमध्ये धेरैजनाले प्लस टुमा पनि कम्प्युटर मेजर विषय लिएर पढेका छौं,’ धिरज सुनाउँछन् ।

उनी अगाडि भन्छन्, ‘तर त्यो पदका लागि आवेदन भर्दा हाम्रो आवेदन नै खारेज भयो । कारण हामीले कम्प्युटरको तीन महिने बेसिक कोर्स गरेका रहेनछौं ।’

‘तीन महिने आधारभूत कोर्समा त्यस्तो के हुन्छ, जुन आईओईमा इन्जिनियरिङ पढेर कम्प्युटरका सयाैं जटिल प्रेजेन्टेसन बुझाउने विद्यार्थीले समेत जानेका हुँदैनन् ?’ धिरज प्रश्न गर्छन् ।

धिरजले उक्त पदका लागि आफूले दोहोर्‍याएर आवेदन दिँदा पनि रिजेक्ट भएको सुनाए ।

धिरज त एउटा उदाहरण मात्र हुन् । अहिले आफ्नो आवेदन खारेज भएको गुनासो र धिरजको जस्तै कारण देखाउँदै आउने धेरै आवेदकहरु भन्सार विभागमा स्पष्टिकरण माग गर्न आइरहेका छन् ।

यसबारे भन्सार  विभागका सूचना अधिकृतसँग सोध्दा आफूलाई यसबारे केही जानकारी नभएको जवाफ उनीहरुले पाए । 

त्यसपश्चात विभागका माथिल्लो तहका कर्मचारीसँग यसबारे बुझ्दा आवेदनमा तीन महिने आधारभूत कम्प्युटर कोर्सको सर्टिफिकेट अनिवार्य रुपमा बुझाउनुपर्ने जवाफ आएको छ ।

विभागले आफू २०६४ सालको नियममा बाँधिएको हुँदा आवदेकले कुनै पनि संस्था वा प्रशिक्षण केन्द्रबाट तीन महिनाको कम्प्युटर कोर्सको तालिम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था नै मान्य हुने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१