close

फेसबुकको न्युज फिडमै अब पोडकास्ट र भ्वाइस क्लिप राख्न मिल्ने

टेकपाना टेकपाना

बैशाख ७, २०७८ १५:२०

फेसबुकको न्युज फिडमै अब पोडकास्ट र भ्वाइस क्लिप राख्न मिल्ने

काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्ममा नयाँ फिचर ल्याउने भएकाे छ । यसअन्तर्गत अब प्रयाेगकर्ताले फेसबुकको न्युज फिडमै भ्वाइस क्लिप र पोडकास्ट राख्न पाउनेछन् । यसका लागि कम्पनीले अडियो बनाउन तथा शेयर गर्न विभिन्न नयाँ टुलहरु उपलब्ध गराउने भएकाे हाे ।

अहिले सर्वाधिक रुचाइएको अडियो प्रविधि फेसबुककाे न्युज फिडमा राख्दा प्रतिस्पर्धी कम्पनीका लागि चुनाैती हुने अनुमान गरिएकाे छ ।

यसका लागि कम्पनीले चाँडै ‘साउण्डबाइट्स’ नामको फिचर ल्याउँदै छ । यो फिचरबाट हामीले अहिलेसम्म कल्पनासमेत नगरेको एनेकडट, जोक्स, प्रेरणाका क्षण, कविता तथा अन्य धेरै कुराहरुलाई छोटो तथा अडियो क्लिपको स्वरुपमा क्याप्चर गरी फेसबुककाे न्युज फिडमा राख्न मिल्नेछ ।

आधारभूत रुपमा यो ह्वाट्सएप तथा म्यासेन्जरमा साथीभाइमाझ शेयर गरिने छोटो अडियो क्लिपजस्तै हुन्छ ।

तर यो फेसबुक पोस्टजस्तै पब्लिक र शेयर गर्न मिल्ने किसिमको हुन्छ । साउण्डबाइट्स फिचर प्रारम्भिक चरणमा थोरै संख्यामा मात्र क्रिएटरहरूलाई उपलब्ध हुनेछ । तर केही महिनापछि यो सबैका लागि उपलब्ध हुनेछ । 

यदि तपाईंलाई लामो अडियोमा रुचि छ भने कम्पनीले चाँडै नै फेसबुकभित्रै प्रत्यक्षरुपमा पोडकास्ट सुन्ने सुविधासमेत ल्याउने घोषणा गरेको छ ।

पोडकास्ट तपाईंको रुचिगत विषयका आधारमा देखापर्ने छन्, जसलाई सामाजिक सञ्जालभित्रका अन्य सामग्रीलाई जसरी शेयर तथा कमेन्ट गर्न सकिन्छ ।

वास्तवमा यी सम्पूर्ण फिचरबाट फेसबुक अहिलेको चर्चामा आएको सोसल मिडिया एप क्लब हाउससँग प्रतिस्पर्धा गर्न चाहन्छ । यसैबीच कम्पनीले रुम्सको अडियो अन्ली भर्सन ‘लाइभ अडियो रुम’ सार्वजनिक गर्ने तयारी गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१