काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले नीतिगत रुपमै ८०० मेगाहर्जमा फोरजी नचल्ने मोबाइल आयातमा नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
शनिबार टेकपानाकाे आयोजनामा भएकाे ‘दूरसञ्चार नीतिगत बहस श्रंखला’ मा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले नियामकले नै त्यस्ता मोबाइलको आयातमा राेक लगाउनुपर्ने भनाइ राखे ।
उनका अनुसार भारतमा बन्ने मोबाइलहरुले ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट नगर्ने भएकाले फोरजी सपोर्ट नहुने अवस्था छ । तर भारतबाहेक चीन, भियतनाम लगायत अन्य देशमा बनेका मोबाइल सेटमा भने यस किसिमको समस्या छैन ।
नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीमा आधारित बीटीएस टावरले लामो दूरीमा नेटवर्क पुर्याउन सक्छ । तर भारतमा बन्ने मोबाइलहरुले भने ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट गर्दैनन् ।