close

ह्वावेको पहिलो विद्युतीय कार सार्वजनिक, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १५:१८

ह्वावेको पहिलो विद्युतीय कार सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं । अन्तत: स्मार्टफोन निर्माता कम्पनी ह्वावेले आफ्नो पहिलो हाइब्रिड एसयूभी कार सार्वजनिक गरेको छ । कम्पनीले विद्युतीय कार तथा उपकरण निर्माता सेरेससँगको सहकार्यमा याे गाडी बजारमा ल्याएकाे हाे ।

यी दुवै कम्पनीले हाल जारी ‘साङघाई अटो शाे’ मा आफ्नो साझेदारीको घोषणा गरेका छन् । साथै दुवै कम्पनीले ‘एसएफ फाइभ एसयूभी’ (SF5 SUV) लाई चीनभर रहेका ह्वावेको स्टोरबाट रिटेल बिक्री गर्ने घोषणा पनि गरेका छन् ।

डिजाइनको कुरा गर्दा ‘सेरेस एसएफ फाइभ एसयूभी’ मा आकर्षक फिचर छन् । यसको इन्टेरियर डिजाइनमा ठूलो टचस्क्रिनयुक्त इन्फोटेन्मेन्ट स्क्रिन छ, जुन हेर्दा टेस्ला कारको जस्तै देखिन्छ ।

याे कारमा १.५ लिटर पेट्रोल इन्जिनसहित विद्युतीय मोटर पनि छ, जसले ५५१ एचपीको पावर र ८२० एनएम टर्क दिन्छ । यसको हाईब्रिड मोडमा एक हजार किलोमिटर र ब्याट्री पावर मोडमा १८० किलोमिटर माइलेज पाउन सकिन्छ ।

याे कारकाे मूल्य चीनमा २ लाख ८६ हजार ८ सय चिनियाँ यूआन (४५ लाख रूपैयाँकाे हारहारीमा) रहेकाे छ ।

अमेरिकासँग व्यापार युद्धका कारण फलिफाप अवस्थामा रहेको ह्वावेको स्मार्टफोन व्यवसाय नै धरापमा परेपछि कम्पनीले घरेलु बजारमा केन्द्रित हुँदै नयाँ कार व्यवसायमा हात हालेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१