close

पीसीआर टेस्टबाट यसरी पत्ता लाग्छ कोरोना भाइरस

टेकपाना टेकपाना

बैशाख २४, २०७८ १५:२३

पीसीआर टेस्टबाट यसरी पत्ता लाग्छ कोरोना भाइरस

काटमाडौं । कोरोना महामारीको दोस्रो लहरको प्रकोप जारी छ । तर पनि धेरैभन्दा धेरै परीक्षण गर्ने प्रयास जारी छ । संक्रमण पत्ता लगाउने सबैभन्दा विश्वासिलो तरिका आरटी-पीसीआर टेस्ट नै हो ।

यही आरटी-पीसीआर टेस्टको अहम हिस्सा हो ‘सीटी भ्यालु’ । यही भ्यालुले तपाईंमा कोरोना पोजेटिभ छ वा छैन भन्ने कुरा निश्चित गर्दछ ।

सबैभन्दा पहिला आरटी-पीसीआर टेस्ट के हो भन्ने विषयमा चर्चा गरौं । रिभर्स ट्रान्सक्रिप्सन पोलिमरेज चेन रिएक्सनको छोटकरी रुप हो आरटी-पीसीआर ।

यो टेस्टबाट कुनै पनि भाइरसको जेनेटिक मटेरियल परीक्षण गरिन्छ । कोरोना एउटा आरएनए भाइरस हो । टेस्टका लागि प्रयोग हुने आरएनए बिरामीको स्वाबबाट निकालिन्छ ।

तर आरटी-पीसीआर टेस्टभन्दा पहिला आरएनएलाई कृतिम तरिकाबाट डीएनएमा परिवर्तन गरिन्छ । त्यसपछि डीएनएमा चेन रिक्सन गराइन्छ । अर्थात एक प्रकारले यसको कपी (प्रतिलिपी) तयार पारिन्छ ।

यसबाट कुनै पनि नमूनामा भाइरस छ वा छैन भन्ने कुरा पत्ता लाग्छ । भाइरस पत्ता लगाउन जतिपटक चेन रिएक्सन दोहोर्‍याउनु पर्ने हुन्छ, त्यसैलाई सीटी भ्यालु भनिन्छ ।

साइकिल थ्रेसहोल्डको छोटकरी रुप नै सीटी भ्यालु हो । यो एउटा अंक हो । आईसीएमआरले कोरोना भाइरस पुष्टीका लागि यस्तो संख्या ३५ निर्धारण गरेको छ ।

यसको अर्थ ३५ साइकलभित्र भाइरस फेला परेको खण्डमा तपाईंमा कोरोना पोजेटिभ देखिनेछ । ३५ साइकलसम्म भाइरस फेला नपरेको खण्डमा तपाईंको रिपोर्ट नेगेटिभ आउँछ ।

यसको प्रक्रिया यस्तो हुन्छ कि सुरुमा एउटाबाट दुई वटा कपी बन्छ । त्यसपछि जबसम्म भाइरस फेला पर्दैन, तबसम्म दुई देखि चार हुँदै कपीहरु तयार हुँदै जान्छन् ।

कयौं व्यक्तिमा ८ देखि १० साइकलमै भाइरस फेला पर्दछ भने केहीमा ३०/३२ साइकल पछि मात्र देखिन्छ । छिट्टै भाइरस फेला पर्नुको अर्थ यो हुन्छ कि तपाईंमा कोरोनाको भाइरल लोड धेरै छ ।

यदि धेरै साइकल पछि मात्र भाइरस फेला पर्दछ भने त्यस्तो अवस्थामा भाइरल लोड कम छ । तपाईंमा १० साइकलमा भाइरस फेला परेको खण्डमा सीटी भ्यालू १० हुन्छ ।

यदि ३० साइकलमा भाइरस पाइयो भने सीटी भ्यालु पनि ३० हुन्छ । यसबाट प्रष्ट हुन्छ कि सीटी भ्यालु जति कम छ, भाइरल लोड त्यति नै बढी हुन्छ ।

अनि सीटी भ्यालू जति बढी, भाइरल लोड उत्तिकै कम । अब भाइरल लोड बढी हुनुको अर्थ बिरामीको अवस्था बिग्रिन सक्छ भन्ने प्रश्न तपाईंको मनमा उठ्न सक्छ । 

यसमा भाइरोलोजिस्ट तथा वैज्ञानिकहरुका अनुसार भाइरल लोड बढी हुनुको अर्थ बिरामीको अवस्था नाजुक हुने खतरा पनि बढी छ भन्ने चाहिँ होइन । सामान्यतया जसको भाइरल लोड बढी छ, उसको अवस्था गम्भीर हुन सक्छ ।

तर सधैं यस्तै हुन्छ भन्ने कुनै नियम भने छैन । कतिपय समय जसको भाइरल लोड कम हुन्छ, त्यस्ता बिरामीको अवस्था समेत गम्भीर बन्न सक्छ ।

यदि सीटी भ्यालु १० छ भने बिरामीको अवस्था गम्भीर हुनसक्छ । तर सीटी भ्यालु ३० भएको बिरामी गम्भीर हुन सक्दैन भन्न पनि सकिँदैन ।

यदि कसैको सीटी भ्यालु १२ छ भने तपाईंले आफू सिरियस रहेको ठान्न आवश्यक छैन । किन भने हरेक व्यक्तिको शरीरले फरक फरक प्रतिक्रिया जनाउने गर्दछ ।

भलै सीटी भ्यालू १२ होस् वा ३२, सावधानी उत्तिकै अपनाउनुपर्ने हुन्छ । सामाजिक दुरी कायम गर्नु र आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

यस्ता पनि कतिपय मामिलाहरु बाहिर आएका छन्, लक्षण देखिँदा समेत आरटी-पीसीआर टेस्ट नेगेटिभ आउँछ । तर जब सिटी स्क्यान गरिन्छ, त्यसमा भने पोजेटिभ देखिन्छ ।

यस्तो किन हुन्छ त ? भाइरोलोजिस्टका अनुसार यसका दुई वटा कारण हुनसक्छन् । पहिलो भाइसर बदलिरहेको छ र परीक्षणले नयाँ भेरियन्टलाई पहिचान गर्न सकिरहेको छैन ।

अर्को कारण हुनसक्छ, स्याम्पल लिने क्रममा भाइरस कम थियो र रिपोर्टमा नेगेटिभ देखियो । यस अलावा नमूना सही किसिमले संकलन नगरिएको हुनसक्छ, एक स्थानबाट अर्को स्थानमा राम्रोसँग स्थानान्तरण गरिएन वा अर्को कुरा ल्यावमा अटोमेसन एकदमै कम हुन्छ ।

परीक्षणको दौरान कतिपय काम मानिसको हातले नै गरिन्छन् । उदाहरणको लागि केमिकल मिलाउने काम । यदि परीक्षणका क्रममा अटोमेसनको प्रयोग कम मात्रामा अपनाइएको छ, धेरै काम म्यानुअल नै गरिएको छ भने मानवीय त्रुटि हुने सम्भावना हुन्छ ।

किन भने अहिलेसम्म अक्षिण अफ्रिका, ब्राजिल, बेलायत, भारत र नेपालमा फेला परेको डबल म्युटेड भाइरस आरटी-पीसीआरमा पहिचान गर्न नसकिएको भन्ने किसिमको कुनै पनि अध्ययन अहिलेसम्म बाहिर आएको छैन ।

मान्यताप्राप्त आरटी-पीसीआर टेस्ट किटमा यसको सम्भावना एकदमै कम हुन्छ । टेस्ट नेगेटिभ आउने अर्को सम्भावना पनि हुनसक्छ । अहिले धेरै ल्याबमा दबाब बढेको छ ।

एक दिनमा ५० वटा परीक्षण गर्ने ल्याबले  पछिल्लो समय ५०० सम्म परीक्षण गरिरहेका हुन्छन् । स्वभाविक हुन्छ कि धेरै दबाबमा काम गर्दा मानवीय त्रुटि हुने सम्भावना पनि बढी नै हुन्छ ।

यस्तो पनि भनिन्छ, आरटी-पीसीआर घाँटीको भाइरसलाई समात्न सक्छ तर फोक्सोको भाइरसलाई पकड्न सक्दैन । त्यसैले सीटी स्क्यान गर्नुपरिरहेको हुन्छ । तर डाक्टरहरु भने फोक्सोमा भाइरस भएको अवस्थामा घाँटीमा भाइरस फेला नपर्ने सम्भावना एकदमै न्यून हुने बताउँछन् ।

यदि ल्याबमा परीक्षणका लागि अधिकतम स्वचालित प्रणाली अपनाइएको छ भने भाइरस सजिलै पहिचान गर्न सकिन्छ । हुन त तपाईंले यस अघि सीटी भ्यालु नसुनेको पनि हुनसक्छ ।

किन भने धेरैजसो व्यक्तिले टेस्ट गराइसकेपछि पोजेटिभ वा नेगेटिभ के छ भन्ने कुरामा मात्र ध्यान दिइरहेका हुन्छन् । तर रिपोर्ट पोजेटिभ आएको खण्डमा त्यसको भाइरल लोड समेत थाहा हुन्छ ।

तर डाक्टरहरुले भने पोजेटिभ वा नेगेटिभको तुलनामा भाइरल लोडको मात्रालाई कम महत्व दिइरहेका हुन्छन् । किन भने चिकित्सा विज्ञानले अहिलेसम्म यो भाइरसलाई राम्रोसँग चिन्न सकेका छैनन् ।

उदाहरणको लागि जब हामी एचआईभी परीक्षण गराउँदछौं, तब थाहा हुन्छ कि १५ दिन औषधी सेवन गर्दा भाइरस ५० बाट ४० वा ४० बाट २० मा आउनुपर्ने हुन्छ । तर कोभिड १९ नयाँ रोग हो । यस्तोमा औषधीले कति दिनमा भाइरल लोड कम गर्छ भन्न सकिन्न । 

बीबीसीको रिपोर्टमा आधारित

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१