close

ग्राहकलाई इन्टरनेट स्पिडको जानकारी दिनेमा १६ कम्पनी मात्रै, बाँकीलाई कारबाहीको तयारी

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १२:४२

ग्राहकलाई इन्टरनेट स्पिडको जानकारी दिनेमा १६ कम्पनी मात्रै, बाँकीलाई कारबाहीको तयारी

काठमाडौं । आफ्ना ग्राहकलाई कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त भइरहेको छ भन्ने विषयमा हालसम्म १६ कम्पनीले मात्रै जानकारी उपलब्ध गराएकाे पाइएकाे छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म १६ कम्पनीले मात्रै ग्राहकलाई आफ्नो इन्टरनेटको गतिबारे जानकारी लिन सहज माध्यम उपलब्ध गराएका छन् ।

पछिल्लो समय इन्टरनेट स्पिडको विषयमा उपभाेक्ताबाट धेरै गुनासो आउन थालेसँगै प्राधिकरणले सेवाप्रदायकले अनिवार्य रुपमा ब्याण्डविथको विषयमा जानकारी उपलब्ध गराउन निर्देशन जारी गरेको थियो ।

‘सेवाप्रदायकले ग्राहकसँग गरेको सम्झौताअनुसार कुन कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त भइरहेको छ भन्ने विषयमा सेवाग्राहीले सजिलै बुझ्ने गरी तथा आफैंले हेर्नसक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ,’ नियामकले त्यसबेला जारी गरेको निर्देशनमा उल्लेख छ ।

यसकाे उद्देश्य प्रयोगकर्ताले तोकिएबमोजिम आफूलाई इन्टरनेट प्राप्त भइरहेको छ वा छैन भन्ने विषयमा सहजै थाहा पाउनु भन्ने रहेकाे छ ।

प्राधिकरणको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३ अनुसार इन्टरनेट वा डेटा सेवाको लागि ८० प्रतिशतभन्दा बढि डाउनलोडको गुणस्तर कायम हुनुपर्नेछ । त्यसैगरी डेटा अपलोडको अवस्था ७५ प्रतिशतभन्दा बढी हुनुपर्ने प्रावधान छ ।

यसअनुसार सेवाप्रदायकले इन्टरनेट दिइरहेको छ वा छैन भनी सहजै हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।

तर, हालसम्म उक्त सिस्टम निर्माण गरी प्राधिकरणमा जानकारी उपलब्ध गराउनेमा १६ कम्पनी मात्रै रहेका छन् । जसमा वर्ल्डलिङ्क, भायानेट, सुबिसु, क्लासिक टेक, हिमालयन अनलाइन सर्भिस, ब्रोडब्याण्ड साेलुसन्स, सस्टेनेबल नेटवर्क, आई–जोन र एलिसा कम्युनिकेशन रहेका छन् ।

त्यसबाहेक प्राइम नेटवर्क, शिखरनेट, अल्ट्रानेट कम्युनिकेसन, चेरी वर्ल्ड कम्युनिकेसन, फर्स्ट लिङ्क कम्युनिकेसन, लाइफनेट र एलएनटी इन्फोटेक रहेका छन् । यी बाहेकका अन्य इन्टरनेट सेवाप्रदायकले हालसम्म कुनै जानकारी उपलब्ध नगराएकाे प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताएका छन् ।

उनका अनुसार इन्टरनेट सेवाप्रदायकहरुले आफ्ना ग्राहकलाई भनेअनुसारको इन्टरनेट स्पिड नदिएको गुनासो निरन्तर बढ्दै गएपछि प्राधिकरणले यसअघि निर्देशन दिएर इन्टरनेटको गतिबारे जानकारी उपलब्ध गराउन भनेकाे थियो ।

त्यसरी निर्देशन दिएको एक वर्ष बितिसकेको छ । उनले भने, ‘हालसम्म १६ कम्पनीले मात्रै हामीलाई यसबारे जानकारी गराएका छन् । बाँकी कम्पनीलाई अन्तिम मौकाको रुपमा एकपटक पत्र पठाएर जानकारी गराउने छौं । यदि त्यति गर्दा पनि नभएको खण्डमा काराबाहीको प्रक्रिया अघि बढ्नेछ ।’

प्राधिकरणले सेवाप्रदायकलाई आफ्ना ग्राहकलाई एमआरटिजी अर्थात सेवाग्राहीले कति इन्टरनेट खपत गरिरहेको छ र कति स्पिडमा इन्टरनेट सेवा प्राप्त भइरहेकाे छ भनेर सजिलाेसँग हेर्ने माध्यम तयार गर्न निर्देशन दिएकाे थियाे ।

तर, अनुमतिप्राप्त १२८ सेवा प्रदायकमध्ये १६ वटाले मात्रै हालसम्म जानकारी उपलब्ध गराएका छन् । भने, बाँकीले धेरैपटक पत्रचार गर्दा पनि कार्यान्वयनमा नल्याएको निर्देशक रोय बताउँछन् ।

उनका अनुसार यसरी नियामकको निर्देशन अवज्ञा गर्ने सेवाप्रदायकलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ । तर, त्योभन्दा पहिले अन्तिमपटक पत्र पठाएर चेतावनी दिने तयारी प्राधिकरणले गरेकाे उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१