close

ईसेवामा किन लिङ्क गर्ने आफ्नो बैंक अकाउण्ट ? (तरिका सहित)

टेकपाना टेकपाना

जेठ १, २०७८ १२:१०

ईसेवामा किन लिङ्क गर्ने आफ्नो बैंक अकाउण्ट ? (तरिका सहित)

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी निकै फस्टाएको छ । त्यसमाथि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले यसलाई अझ बढावा दिएको छ । सँगसँगै नगद कारोबारबाट भाइरस संक्रमण हुनसक्ने जोखिम हुने भएकाले बच्ने उपायको रुपमा समेत सकेसम्म डिजिटल भुक्तानी प्रयोग गर्नुपर्ने अवस्था छ ।

नेपालमा डिजिटल तथा अनलाइन भुक्तानीमा ईसेवाको अग्रणी भूमिका छ । ग्राहक आधार समेत सबैभन्दा बढी रहेको यो डिजिटल वालेटमा समय समयमा नयाँ नयाँ फिचरहरु थप भइरहेका हुन्छन् ।

यसैक्रममा पछिल्लो समय एपमा आफ्नो बैंक खाता लिङ्क गर्न सकिने सुविधा समेत आएको छ । अंग्रेजी नयाँ वर्ष सुरुभएसँगै थपिएको यो फिचर प्रयोग गर्ने ग्राहकको संख्या करिब ५० हजार नाघिसकेको ईसेवाका बैंक तथा कर्पोरेट रिलेसन हेड आशिष गौतम बताउँछन् ।

अहिले बैंक खाता लिङ्क गराउन सकिने बैंक तथा वित्तीय संस्थाको संख्या समेत बढेर २१ पुगेको छ । क्रमशः अन्य बैंकहरुलाई समेत यसमा जोड्दै लगिएको गौतमको भनाइ छ ।

त्यसो त मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा रहेको रकम ईसेवामा लोड गर्न सकिने र ईसेवामा भएको रकम विभिन्न बैंकमा रहेको खातामा पठाउन सकिने सुविधा यस अघि देखि नै उपलब्ध छ । यस्तो अवस्थामा ईसेवामा बैंक खाता लिङ्क गराउनुको के अर्थ ? पक्कै पनि तपाईंको मनमा पनि यस्तै प्रश्न हुनसक्छ ।

मुख्यतः अकाउनेट लिङ्क गराउँदा तपाईंले तीन वटा लाभ उठाउन सक्नुहुन्छ । पहिलो आफ्नो ईसेवामा रकम लोड ग र्न एकदमै सजिलो हुन्छ । दोस्रो कुरा ईसेवामा भएको रकम एकै पटकमा एक लाख रुपैयाँसम्म बैंक खातामा ट्रान्सफर गर्न सकिन्छ ।

अनि यसको अर्को फाइदा भनेको अन्य बैंक खातामा एक हजार रुपैयाँसम्म निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अवस्थामा लिङ्क गरिएको खातामा भने पाँच हजार रुपैयाँसम्म निःशुल्क पठाउन मिल्छ ।

यसबाहेक राष्ट्र बैंकले वालेटमा २५ हजार रुपैयाँभन्दा बढी रकम एक दिनभन्दा बढी (ओभर नाइट) राख्न नपाउने व्यवस्था गरेको छ । तर, त्यसभन्दा बढी रकम वालेटमा भए पनि के गर्ने भन्ने विषयमा अन्यौलता छ ।

यस्तोमा प्रयोगकर्ताको बैंक खाता यकिन गरी निश्चित सीमाभन्दा बढी रहेको रकम स्वतः ट्रान्सफर हुने व्यवस्थाका लागि समेत वालेटमा बैंक खाता लिङ्क गराउन थालिएको गौतमले बताए ।

‘हाल ईसेवाका कुनै पनि प्रयोगकर्ताले दैनिक एक हजार रुपैयाँ बैंक खातामा लैजान कुनै शुल्क तिर्नुपर्दैन,’ उनले भने, ‘तर खाता लिङ्क गराउने प्रयोगकर्ताले भने ५००० रुपैयाँसम्म निःशुल्क रुपमा आफ्नो बैंक खातामा ट्रान्सफर गर्न सक्छन् । त्यतिमात्र होइन, त्यस्ता प्रयोगकर्तालाई आफ्नो कुनै एउटा बैंक अकाउन्टमा त्यसभन्दा माथिको रकम समेत निःशुल्क ट्रान्सफर गर्नसक्ने सुविधा पनि ल्याउँदै छौं ।’

ईसेवाले यो फिचरबाट फास्ट (छिटो), सेक्योर (सुरक्षित) र कन्भिनियन्ट (सहज) रुपमा भुक्तानी सुविधा प्रयोग गर्न सकिने बताउँदै आएको छ । यसको अर्थ बैंक खाता लिङ्क गरेपछि ईसेवामा तुरुन्तै रकम लोड गर्न सकिन्छ ।

रकम लोड गर्न आफ्नो मोबाइल बैंकिङ एप लगईन गर्नै पर्दैन । ईसेवामा ‘लोड मनी’ अप्सनमा रकम उल्लेख गरी पिन राखेकै भरमा बैंक खातामा रहेको रकम ईसेवामा लोड हुन्छ । यसले बैंक खाताबाट वालेटमा रकम लोड गर्दा भुलबस अर्कै व्यक्तिको खातामा जाने जोखिम समेत कम गर्ने गौतमले बताए ।

उनले भने, ‘‘सजिलो मात्र नभएर यो सुविधा सुरक्षित पनि छ । यो प्रक्रियामा मोबाइल बैंकिङ अथेन्टिकेट गर्ने हुँदा प्रयोगकर्ताले ढुक्कसाथ यसलाई प्रयोग गर्न सक्छन् ।’

ईसेवामा बैंक खाता लिङ्क गर्न के चाहिन्छ ?

तपाईंले ईसेवामा आफ्नो बैंक खाता लिङ्क गराउनु अघि केही पूर्वशर्त पुरा गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंको ईसेवा अकाउन्ट भेरिफाइड हुनुका साथै तपाईंकै नामको बैंक खाता समेत जरुरी छ । यति मात्र होइन, तपाईंले मोबाइल बैंकिङ सेवा समेत लिएको हुनुपर्छ ।

यदि तपाईंले यी सबै शर्त पुरा गर्नुभएको छ भने ईसेवामा आफ्नो बैंक खाता लिङ्क गराउने प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ ।

अनि अर्को कुरा बैंक खातामा उल्लेख भएको नम्बर र ईसेवा खातामा रहेको नम्बर समेत एउटै हुनुपर्छ । यदि नम्बर फरक छ भने पनि चिन्ता नलिनुहोस् । तपाईंले बैंक खातामा रहेको नम्बरलाई ईसेवामा ‘सेकेण्डरी’ नम्बरको रुपमा राखेपछि यो समस्या पनि समाधान हुन्छ ।

यसका लागि आफ्नो ईसेवा खोल्नुहोस् र बायाँ कुनामा रहेको प्रोफाइल आइकनमा जानुहोस् ।

त्यहाँ तपाईंले डिभाइसेस एण्ड क्रेडेन्सियल (Devices & Credentials) अप्सन देख्न सक्नुहुनेछ । त्यसभित्र दोस्रोमा रहेको क्रेडेन्सियल (Credentials) मा तल दायाँतर्फ रहेको प्लस (+) आइकनमा गएर आफ्नो बैंक खातामा रहेको मोबाइल नम्बर र नाम थप (Add) गरेर प्रोसिड गर्नुहोस् ।

अब मोबाइलमा आएको ओटीपी कोड राखेर प्रमाणीकरण (Verify) गर्नुहोस् । यति गरेसँगै तपाईंको बैंक खातामा रहेको नम्बर ईसेवामा सेकेन्डरी नम्बरको रुपमा रहन्छ ।

तपाईंले आवश्यकता अनुसार यसरी ५ वटा मोबाइल नम्बरलाई सेकेन्डरी नम्बरको रुपमा राख्न सक्नुहुन्छ । 

अब लिङ्‍क गर्ने कसरी ?

आफ्नो बैंक खाता लिङ्क गर्न सुरुमा आफ्नो ईसेवा एप खोल्नु होस् । 

लोड मनीमा जानुहोस् र सुरुमा रहेको प्लस (+) आइकनमा थिचेर बैंक अकाउन्ट लिङ्क गर्ने प्रक्रिया थाल्नुहोस् । 

यसका लागि अर्को उपाय पनि छ । जसअनुसार माथि बायाँ कुनामा रहेको आफ्नो प्रोफाइलहुँदै माई बैंक अकाउन्ट (My Bank Account) मा जानुहोस् । 

अब तल रहेको लिङ्क बैंक अकाउन्ट (Link Bank Account) मा थिच्नुहोस् ।

त्यहाँ रहेको सूचीबाट आफ्नो खाता रहेको बैंक छनौट गर्नुहोस् । 

बैंक खाता उल्लेख गर्नुहोस् र प्रोसिड (Proceed) मा दबाउनुहोस् । 

त्यसपछि तपाईंको खाता रहेको बैंकको पेज खुल्छ । त्यसमा आफ्नो मोबाइल नम्बर र मोबाइल बैंकिङको पासवर्ड राखेर लगईन गर्नुहोस् । 

अब तपाईंको मोबाइलमा आएको ओटीपी कोड राख्नुहोस् र पुनः लगईन गर्नुहोस् । यति गरेसँगै तपाईंको बैंक खाता ईसेवामा लिङ्क हुन्छ ।

ईसेवामा खाता लिङ्क गर्न सकिने बैंक तथा वित्तीय संस्था

१. सेञ्चुरी

२. एभरेस्ट

३. ग्लोबल बैंक

४. मेगा बैंक

५. नेपाल बैंक

६. नेपाल बंग्लादेश बैंक

७. एनसीसी बैंक

८. प्रभु बैंक

९. गरिमा विकास बैंक

१०. ग्रिन डेभलपमेन्ट बैंक

११. ज्योती विकास बैंक

१२. कामना सेवा विकास बैंक

१३. मुक्तिनाथ विकास बैंक

१४. सप्तकोशी विकास बैंक

१५. शाइन रेसुङ्गा विकास बैंक

१६. साङ्ग्रीला विकास बैंक

१७. प्रोग्रेसिभ फाइनान्स

१८. श्रीजना फाइनान्स

१९. युनाइटेड फाइनान्स

२०. आईसीएफसी

२१. रिलायन्स फाइनान्स

ईसेवाबाट रकम ट्रान्सफर गर्दा कति लाग्छ शुल्क ?

ईसेवाबाट कुनै पनि बैंक खातामा दैनिक १००० रुपैयाँको दरले अधिकतम १० पटकसम्म (१०,०००) र मासिक ५० पटकसम्म (५०,०००) रकम ट्रान्सफर गर्दा शुल्क लाग्दैन । तर लिङ्क गरिएको बैंक खातामा निःशुल्क रुपमा पाँच हजार रुपैयाँसम्म रकम ट्रान्सफर गर्न सकिन्छ । 

ईसेवाबाट अन्य बैंक खातामा प्रति कारोबार अधिकतम २५ हजार रुपैयाँसम्म बैंक ट्रान्सफर गर्न सकिन्छ । जसमा दैनिक २० पटकसम्म र मासिक ५० पटकसम्म रकम ट्रान्सफर गर्न सकिने भए पनि कारोबार रकमको सीमा भने दैनिक अधिकतम एक लाख रुपैयाँ र मासिक अधिकतम पाँच लाख रुपैयाँ रहेको छ ।

लिङ्क गरिएको बैंक खातामा ट्रान्सफर गर्न सकिने रकमको अधिकतम सीमा अन्य खाता सरह रहे पनि एकै पटकमा ट्रान्सफर गर्न सकिने रकम भने फरक छ । लिङ्क गरिएको बैंक खातामा एकै पटक एक लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

जसले गर्दा लिङ्क गरिएको बैंक खातामा रकम ट्रान्सफर गर्दा तुलनात्मक रुपमा सस्तो समेत पर्न जान्छ । उदाहरणको लागि तपाईंले लिङ्क गरिएको खातामा एक लाख रुपैयाँ ट्रान्सफर गर्दै हुनुहुन्छ भने ७५ रुपैयाँ मात्र लाग्छ ।

तर त्यति नै रकम अन्य खातामा पठाउन चार पटक यो प्रक्रिया दोहोर्‍याउनु पर्ने हुन्छ । यसका लागि २०० रुपैयाँ शुल्क लाग्छ । 

कारोबार रकमरू.लिङ्क गरिएको बैंक खाताअन्य बैंक खाता
१,०००निःशुल्कनिःशुल्क
५,००० निःशुल्क२० रुपैयाँ
५,००१-१०,०००२० रुपैयाँ२० रुपैयाँ
१०,००१-२०,०००३० रुपैयाँ३० रुपैयाँ
२०,००१-२५,०००४० रुपैयाँ४० रुपैयाँ
२५,००१-३०,०००४० रुपैयाँ६० रुपैयाँ (२ पटकमा)
३०,००१-४०,०००५० रुपैयाँ६०-७० रुपैयाँ (२ पटकमा)
४०,००१-५०,०००६० रुपैयाँ७०-८० रुपैयाँ(२ पटकमा)
५०,००१-१,००,०००७५ रुपैयाँ१००-२०० रुपैयाँ(४ पटकमा)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४