काठमाडौं । इलेक्ट्रोनिक कम्पनी तोसिबाको एउटा युनिटमाथि साइबर आक्रमण भएको छ । खबरअनुसार ह्याकरको डार्कसाइड ग्रुपले यो रेनसमवेयर आक्रमण गरेको हो ।
यो त्यही समूह हो, जसले हालै मात्र अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियनलाई आफ्नो शिकार बनाएको थियो । यो साइबर आक्रमणपछि विज्ञहरुले डार्कसाइड ह्याकरका करिब ३० वटा समूह रहेकाे जनाएका छन् ।
जसले विभिन्न मुलुकका कम्पनीलाई निशाना बनाइरहेका छन् । विज्ञहरुको भनाइमा वर्क फ्रम होमको यो समयमा ह्याकरका लागि कुनै पनि संस्था वा कम्पनीलाई शिकार बनाउन थप सहज भएको छ ।
डार्कसाइडको यो ह्याकिङको विषयलाई लिएर एक साइबर सेक्युरिटी फर्मले एउटा स्क्रिनशट शेयर गरेको छ । जसअनुसार तोसिबामाथिको साइबर आक्रमणबाट करिब ७४० जीबी डेटा चोरी भएको छ ।
जसमा कम्पनीका कर्मचारीको पासपोर्ट लगायतका कयौं व्यक्तिगत जानकारी समेत रहेका छन् । रेनसमवेयर आक्रमणमा ह्याकरहरुले डेटा इन्क्रिप्ट गरिदिन्छन् र डिक्रिप्ट गर्नका लागि क्रिप्टोकरेन्सीमा फिरौती माग्ने गर्दछन् ।
डार्कसाइड ग्रुपले अघिल्लो साता अमेरिकामा एउटा ठूलो साइबर हमला गरेको थियो । त्यसपश्चात कोलोनियल पाइपलाइन बन्द हुन पुगेको थियो । कोलोनियल पाइपलाइन अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपालन हो ।
जसमाथि रेनसमवेयर आक्रमण हुँदा १०० जीबी डेटा चोरी भएको थियो । एएफपीको रिपोर्ट अनुसार अघिल्लो साता बुधबारदेखि कोलोनियल पाइपलाइन पुनः सुचारु भएको छ ।
त्यसअघि कम्पनीले यो साइबर आक्रमणका कारण सामान्य आपूर्तिमा फर्किन कयौं दिन आफ्नो सेवा बन्द गर्नुपरेको थियो । कोलोनियल पाइपलाइनबाट दैनिक २५ लाख ब्यारल तेल जाने गर्दछ ।
अमेरिकाका कयौं राज्यमा डिजल, ग्याँस र हवाई इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्दछ ।
पाइपलाइनमा साइबर आक्रमणकारीको एउटा समूहले शुक्रबारका दिन हमला गरेको थियो । त्यसपश्चात मर्मतको काम अझैं जारी छ । यो साइबर आक्रमण पछि अमेरिकामा आपतकाल घोषणा गरिएको छ ।