काठमाडाैं । नेपाल टेलिकमले परम्परागत तारसहितको टेलिफोन सेवा (फिक्स्ड लाइन) लाई विस्थापन गर्दै फाइबर टु दी होम (एफटीटीएच) मा रुपान्तरण गरिरहेको कम्पनीका निर्देशक अनन्तमान सिंहले बताएका छन् ।
टेकपाना डटकमको आयोजनामा शनिबार जारी टेल्कोज पोलिसी डिबेट सिरिजअन्तर्गत ‘दूरसञ्चार सेवामा गुणस्तर‘ विषयक अन्तर्क्रियामा बोल्दै निर्देशक सिंहले बजारको माग र आवश्यकता अनुसार टेलिकमका सेवा नयाँ प्रविधिमा रुपान्तरण भइरहेकाे भनाइ राखे ।
तारवाला टेलिफोनलाई किन यति धेरै बेवास्ता भन्ने प्रश्नमा उनले भने, ‘हिजो दूरसञ्चार सेवा पीएसटीनबाट सुरू गरेका थियौं । त्यतिबेलाका लागि त्यही प्रविधि उपयुक्त थियो । लगानी पनि धेरै गरिएको थियो । आईटीको विकास भइरहँदा हामीले नयाँ प्रविधि अवलम्बन गरिरहेका छाैं ।’
उनले अगाडि भने, ‘ग्राहककाे सङ्ख्या बढ्दै जाँदा कप्पर नेटवर्कबाट सेवा दिन समस्या र अवरोध आउन थाले । यहीकारण हामी अहिले एफटीटीएच नेटवर्कबाट गुणस्तरीय सेवा विस्तारमा लागेका छाैं ।’
अहिले कप्पर नेटवर्कका प्रयोगकर्ता ७ लाखबाट घटेर ४ लाखमा सीमित भइसकेको बताउँदै उनले २/३ वर्षमा पूर्ण रुपमा यसमा आधारित सेवा अन्त्य गर्ने गरी काम भइरहेका जानकारी दिए ।
इन्टरनेट सेवाका लागि पुराना प्रविधिले माग थेग्न नसकेकाे उनकाे भनाइ छ । ‘भिडिओ, कन्टेन्ट लगायतमा उच्च माग बढेका कारण ब्याण्डविथ धेरै खपथ भइरहेकाे छ । जसका कारण यसअघिकाे एडीएसएलले ग्राहकको ब्याण्डविथ आवश्यकता पुरा गर्न सकेन र नयाँ प्रविधिमा रूपान्तरण हुन जरूरी देखियाे ।’