काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका लागि एक सातामै फेसबुकबाट ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । आविष्कार केन्द्रलाई कोरोना भाइरस विरुद्ध लड्ने कार्यमा साथ दिँदै विभिन्न देशमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा उक्त सहयोग रकम जुटाएका हुन् ।
केन्द्रले प्राविधिक रुपमा कोरोना भाइरससँग जुध्न विभिन्न अस्पताल तथा बिरामीहरुलाई विभिन्न किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । अमेरिकामा रहेका नेपाली नर्सहरुको संस्थाले फेसबुकमार्फत आविष्कार केन्द्रका लागि रकम जुटाइरहेको छ ।
५८ लाख ४८ हजार रुपैयाँ सहयोग रकम जुटाउने उद्देश्यका साथ गएको २४ वैशाखमा फेसबुकमा ‘फण्डराइजर’ अभियान थालिएको हो ।
त्यसको छोटो समयमै उक्त अभियानमा विभिन्न देशमा रहेका ३२१ जना नेपालीहरुले साथ दिएका छन् । धेरै नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई कसरी आर्थिक दान गर्न सकिन्छ भनेर सोधिरहेको केन्द्रका संस्थापक महाबिर पुनले उल्लेख गरेका छन् ।
‘म कोरोना सम्बन्धी काममा २४ सै घण्टा व्यस्त भएकाले सबैलाई बैंकको खाता नम्बर, ई-सेवा को विवरण दिन सकेको छैन,’ उनले फेसबुक पोस्टमार्फत भनेका छन् । भित्री हृदयतबाट खुशी भएर दान गर्न चाहनेहरुले विभिन्न माध्यमबाट सहयोग उपलब्ध गराउन सकिने उनले बताएका छन् ।
विदेशमा बस्नेहरुले फेसबुकमार्फत आविष्कार केन्द्रलाई सहयोग रकम उपलब्ध गराउन सक्नेछन् (फेसबुकबाट आविष्कार केन्द्रलाई सहयोग रकम उपलब्ध गराउन यहाँ क्लिक गर्नुहोस्) । यद्यपि राष्ट्रिय आविष्कार केन्द्रले कसैलाई र कहिल्यै पनि पैसा नमाग्ने पुनले स्पष्ट पारेका छन् ।
तर स्वेच्छाले दिएको दान भने स्वीकार गरिने उनको भनाइ छ । नेपालभित्रबाट ईसेवा र बैंक खातामार्फत आविष्कार केन्द्रलाई सहयोग उपलब्ध गराउन सकिनेछ ।