close

किन ‘ब्लर’ देखिन्छ गाजा क्षेत्रको गुगल तस्वीर ?

टेकपाना टेकपाना

जेठ ४, २०७८ १८:२८

किन ‘ब्लर’ देखिन्छ गाजा क्षेत्रको गुगल तस्वीर ?

काठमाडौं । लामो समय मत्थर बनेको मध्यपूर्वी क्षेत्र यतिबेला फेरि अर्को युद्धको उद्घोष गरिरहेको देखिन्छ । खासगरी इजरायल र गाजाबीच बढेको पछिल्लो तनावले मध्यपूर्व फेरि एकपटक चर्चामा छ । गाजा र इजरायलबीचको रकेट बम प्रहारको दृश्य सञ्चार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट देखिन थालेका छन् ।

रकेट प्रहारका भिडियो समेत सजिलै प्राप्त भइरहेको यो समयमा गाजा क्षेत्रको गुगल अर्थ तस्वीर भने प्रष्ट देखिदैंन । दुई देशबीचको पछिल्लो तनाव सुरु भएयता जब सूचना तथा जानकारीका लागि सञ्चारमाध्यमसहित धेरै किसिमका व्यक्तिहरुले गाजा क्षेत्रको स्याटेलाइट तस्वीर खोजे, त्यो एकदमै नबुझिने ‘ब्लर’ जस्तो तस्वीरमात्र फेला पारे ।

त्यसपछि गाजा क्षेत्रको गुगल तस्वीरको पनि अहिले चर्चा हुन थालेको छ । विश्वमाझ खुला नभएको उत्तर कोरियाको राजधानी प्योङ्याङका सडकमा बरु सजिलै कारहरु देखिएको तर गाजा क्षेत्रमा भने घरको स्पष्ट तस्वीर समेत देख्न नसकिएको भनेर तुलना गर्न थालेका छन् ।

गाजा क्षेत्रको अहिलेको गुगल अर्थ तस्वीर सन् २०१६ को भनेर अनुमान गरिएको छ । बीबीसीले गाजा क्षेत्रको त्यस्तो तस्वीरका सम्बन्धमा गुगललाई पनि सोधेको थियो ।

गुगलले गुगल अर्थमा हुने तस्वीरहरु स्याटेलाइट कम्पनीबाट प्राप्त हुने र त्यसैको आधारमा अपडेट गरिने प्रतिक्रिया दिएको थियो । गुगलले उच्च गुणस्तरिय तस्वीर उपलब्ध भएपनि अहिलेको समयमा भने यसलाई सेयर नगर्ने जनाएको छ ।

एप्पलले पनि उक्त क्षेत्रको अहिलेको परिस्थितिलाई ध्यानमा राखेको जनाएको छ । एप्पल र गुगलले उपलब्ध गराउने यस्ता तस्वीरहरु ओपन सोर्स हुन् ।

यी कम्पनीहरुले स्याटेलाइट कम्पनीबाट प्राप्त तस्वीरलाई देखाउँछन् । कतिपय अवस्थामा कुनै क्षेत्रका तस्वीर अपडेट नभएको पनि हुन सक्छ । अथवा सुरक्षाका कारणले पनि त्यसलाई जोखिमपूर्ण मानिएको हुन सक्छ । -बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१