close

नेपालमै नास्टले बनाएको अक्सिजन सिलिण्डरको सफल परीक्षण

टेकपाना टेकपाना

जेठ ५, २०७८ ७:२६

नेपालमै नास्टले बनाएको अक्सिजन सिलिण्डरको सफल परीक्षण

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपालमै बनाएकाे अक्सिजन सिलिण्डरकाे पहिलाे परीक्षण सफल भएकाे छ । मंगलबार राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा साे परीक्षण गरिएकाे थियाे ।

नेपालमै तयार पारिएको याे अक्सिजन सिलिण्डर ‘प्रेसर टेस्ट’ मा सफल भएकाे बताउँदै नास्टले अन्तिम परीक्षणपछि व्यवसायिक उत्पादनमा जान सकिने जनाएकाे छ ।

स्थानीय स्तरमा उपलब्ध स्रोत सामग्री उपयोग गरी अक्सिजन अभाव पूर्ति गर्ने उद्देश्यका साथ नास्टले अक्सिजन सिलिण्डर निर्माण परियाेजना अघि सारेकाे हाे । 

यसका लागि नास्टले उद्योग क्षेत्रसँग समेत सहकार्य गरेको छ । जसअनुसार नास्टका तर्फबाट वैज्ञानिक तथा वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले यो परियोजनाको नेतृत्व गरिरहेका छन् । त्यस्तै उद्योग क्षेत्रबाट इन्जिनियरहरु सुजन श्रेष्ठ, कृष्णा ढकाल र पूर्णराज सुवेदी यसमा संलग्न रहेका छन् ।

वैज्ञानिक ढकालले सुरक्षाको उपाय अवलम्बन गरी केही दिनमै अन्तिम परीक्षण हुने र त्यसपछि सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिन सकिने बताए ।

कोरोना भाइरसको पहिलो लहरसँगै नास्टले ‘नास्ट कोभिड १९ कम्ब्याड मिसन’ अन्तर्गत कोभिडसँग जुध्न सकिने प्रविधि विकासमा अग्रसरता देखाएको थियो । जसमा हालसम्म तीन दर्जनभन्दा बढी विज्ञ तथा प्राविधिकहरु आवद्ध भइसकेका छन् । 

याे अभियाअन्तर्गत नेपालमै अक्सिजन सिलिण्डर उत्पादनकाे परियाेजना सुरू भएकाे हाे । नेपालमा अक्सिजन सिलिण्डर बनाउने तथा परीक्षण गर्ने कार्य अहिलेसम्म थिएन ।

तर यहाँ एलपीजी ग्याँस सिलिण्डरको भने काम भइरहेको छ । कोशी ग्याँस र नेपाल ग्याँसले नेपालमै एलपीजी ग्याँस सिलिण्डर बनाउने र परीक्षण गर्ने काम गर्दै आएका छन् ।

नास्टमा विकास गरिएको अक्सिजन सिलिण्डर तिनै ग्याँस उद्योगको ल्यावमा परीक्षण गर्ने प्रयास समेत भएको थियो । एलपीजी ग्याँस सिलिण्डर १५ केजी प्रति वर्ग सेन्टिमिटरको चाप धान्नसक्ने किसिमले बनाइएका हुन्छन् ।

May be an image of 1 person, standing, sitting and indoor

तर अक्सिजन सिलिण्डरले भने १५० केजी प्रति वर्ग सेन्टिमिटरको चाप थेग्नुपर्ने हुन्छ । यस्तोमा ग्याँस सिलिण्डरको टेस्टिङ उपकरणको क्षमता र सेटअपमा अक्सिजन सिलिण्डरको परीक्षण हुन सकेन ।

त्यसपछि नास्टमै अक्सिजन सिलण्डर परीक्षणको सेटअप बनाइएकाे थियाे । अब अन्य सिलिन्डरहरुको गुणस्तर परीक्षण पनि नास्टमै हुने जनाइएकाे छ ।

‘यो डिजाइनले परीक्षणपछि नास्टबाट मान्यता प्राप्त गरेको खण्डमा नेपालका जुनसुकै उद्योगले निश्चित मापदण्डमा रहेर व्यावसायिक रुपमा अक्सिजन सिलिण्डर बनाउन सक्छन्,’ वैज्ञानिक ढकालले भने ।

उनका अनुसार चीन र भारतबाट आउने अक्सिजन सिलिण्डरमा प्रयोग भएकै धातु प्रयोग गरी त्यही स्वरुप तथा डिजाइनमा अक्सिजन सिलिण्डर विकास गरिएको छ । ‘अक्सिजन सिलिण्डर बनाउन हामीले ६ एमएम मोटाइ भएको धातु प्रयोग गरेका छौं,’ उनले भने । 

Nast Developed First Oxygen Cylinder of Nepal

अहिले बजारमा प्रतिसिलिन्डर १२ देखि १४ हजार रुपियाँमा पाइने गरेकाेमा नास्टले तयार गरेको सिलिन्डर १० हजार रुपियाँमै उपलब्ध गराउन सकिने नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१