close

भुक्तानी कारोबार बढेपनि एनसीएचएलको खुद नाफा घट्यो

टेकपाना टेकपाना

जेठ ५, २०७८ १८:१३

भुक्तानी कारोबार बढेपनि एनसीएचएलको खुद नाफा घट्यो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो नवाैं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भर्चुअल प्रविधिबाट भएको साधारणसभाको बैठकले कम्पनीको चुक्ता पूँजी रु. २९.८ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. ४१.१ करोड पुर्‍याउने निर्णय गरेको छ ।

साथै बोनस शेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।

आ.व. २०७६/७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा २२.२५ प्रतितशतले घटेको छ । त्यसैगरी कम्पनीले कूल पूँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कमरहेको छ ।

कम्पनीको खुद नाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्णरुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।

बैठकले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै ती पदमा हिमालयन बैंक लि. का जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंक लि. का वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लि.का आईटी प्रमुख सुजन मल्ल निर्वाचित भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधि रहेका छन् ।

कम्पनीले एनसीएचल ईसीसी, एनसीएचएल आईपीएस कथा कनेक्ट आईपीएस भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७६/७७ मा कूल ९७ खर्ब बराबरको २.०६ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ५८ गैर–बैंकिङ संस्थाहरु अप्रत्यक्ष, प्रावधिकि सदस्यको रुपमा आवद्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१