काठमाडाैं ।नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवाज सेवा अर्थात् ‘भीओएलटीई’ सेवाको परीक्षण थाल्याे । प्रयोगकर्ता सबैका लागि खुला गरिएको परीक्षणमा भने टेलिकमका धेरै ग्राहक सहभागी हुन पाएनन् ।
सोमबार नै टेलिकमले उक्त सेवा प्रयोग गर्न सकिने विभिन्न तीन ब्रान्डका फोनको सूची सार्वजनिक गर्यो । सूचीअनुसार टेलिकमको यो सेवा सामसङ, साओमी, नोकियाका सीमित मोडल भएका प्रयोगकर्ताले पनि लिन सक्नेछन् ।
भीओएलटीई परीक्षणको प्रतीक्षामा रहेका टेलिकमका धेरै प्रयोगकर्ताले सोमबार सेवा लिन बारम्बार प्रयास गरे पनि त्यो सफल हुन सकेन । टेलिकमका अनुसार परीक्षण सुरु भएको दुई दिनमा मात्र एक लाख ३७ हजारभन्दा बढीले आफ्नो मोबाइलमा भीओएलटीई सक्रिय बनाए । तर भीओएलटीईको निःशुल्क कलसहितको प्याकेज भने १५ हजारभन्दा बढीले मात्र पाएका छन् ।
त्यसैमध्ये पर्छन्, आईफोन प्रयोगकर्ता पनि । स्टाटकाउन्टरका अनुसार नेपालका कुल मोबाइल प्रयोगकर्तामध्ये ७.७३ प्रतिशतले आइफोन प्रयोग गर्छन् । तर आईफोन प्रयोगकर्ताले टेलिकमको भीओएलटीई सुविधा प्रयोग गर्न पाउने समय भने अहिलेसम्म अनिश्चित छ ।
आईफोनले २० ब्यान्डअन्तर्गतको आठ सय मेगाहर्ज फ्रिक्वेन्सीका लागि भीओएलटीई सुविधा नदिँदा नेपालका आईफोन प्रयोगकर्ताले यो सुविधा लिन पाएका छैनन् । त्यसैले टेलिकमले आइतबार एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई ईमेल लेख्दै उक्त ब्यान्डमा भीओएलटीई खुला गरिदिन आग्रह गरेको छ ।
“अघिल्लो पटक टेलिकमका तर्फबाट लेखिएको ईमेलमा पनि एप्पलबाट सकारात्मक प्रतिक्रिया आएको थियो,” कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने, “नेपालमा यो सेवाको परीक्षण सुरु गर्न लागिएको जानकारीसहित आइतबार पनि ईमेल गरेका छौँ । ”
यसअघि नेपालमा फोरजी सेवा सुरु हुँदा पनि आईफोन प्रयोगकर्ताले सुरुमा यसको प्रयोग गर्न पाएका थिएनन् । टेलिकमले आईफोनलाई औपचारिक पत्र लेखेर उक्त सेवा नेपालमा ‘इनेबल’ गराउन आग्रह गरेको थियो । त्यसपछि मात्रै आईफोनमा फोरजीको बाटो खुलेको थियो ।
टेलिकमले आईफोनबाहेक यसअघि आन्तरिक परीक्षणकै क्रममा भिभो, ओप्पो, ह्वावे, वनप्लस, रियलमीलगायतका नेपालमा प्रचलित मोबाइल निर्माता कम्पनीलाई भीओएलटीई सेवा प्रयोग गर्न मिल्नेगरी प्रणाली व्यवस्थापन गर्न आग्रह गरिसकेको अधिकारीले जानकारी दिए ।
त्यसमध्ये ओप्पोबाहेक बाँकी सबैले सकारात्मक प्रतिक्रिया दिएको र छिटै खुलाउने सङ्केत दिएको उनले बताए ।
खासगरी भारतमा निर्मित मोबाइल ८५० मेगाहर्जमा मात्र फोरजी सेवा प्रयोग गर्न सकिने भएकाले धेरै मोबाइलमा फोरजी प्रयोगमै समस्या आइरहेको अवस्था थियो । टेलिकमले यो समस्यासहित भीओएलटीई सेवासमेत खुलाउन बारम्बार प्रयत्न गरिरहेको अधिकारीको भनाइ छ ।
उनका अनुसार यी सबै कम्पनीका सन् २०१८ यताका मोबाइलमा भीओएलटीई खुलाउन आग्रह गरिएको छ । त्यसो गर्दा एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेट दिएर पनि भीओएलटीई खुला गर्न सकिने र अहिलेकै मोबाइलबाट कम्पनीका ग्राहकले सेवा लिनसक्ने उनले बताए ।
टेलिकमले परीक्षण सुरु गरेको भीओएलटीई सेवा आठ सय मेगाहर्ज र १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा मात्र प्रयोग गर्न सकिन्छ । त्यसमध्ये टेलिकमले आठ सय मेगाहर्ज फ्रिक्वेन्सीलाई ग्रामीण क्षेत्रका प्रयोगकर्ताका लागि केन्द्रित गरेको छ ।
धेरै दूरीमा यसको पहुँच हुने भएकाले उक्त फ्रिक्वेन्सी प्रयोग गरिएको अधिकारीले जानकारी दिनुभयो । टेलिकमले त्यसैले पनि फोरजी र भीओएलटीई सेवा लिन यी दुवै ब्यान्डका फ्रिक्वेन्सी चल्नसक्ने मोबाइल मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको छ ।