काठमाडौं । अब टिकटकको अकाउन्ट नेपालबाटै भेरिफिकेसन हुने भएको छ । यसअघि भारतबाट टिकटक भेरिफिकेसन हुँदै आएकोमा अब नेपाली कम्पनीबाटै भेरिफिकेसनको काम हुने भएको हो ।
नेपालबाट सञ्चालन भएका टिकटक अकाउन्ट रिलिज नेपाल प्रालि नाम कम्पनीले भोलि शुक्रबार (७ जेठ) देखि फेरिफिकेसनको काम गर्ने भएको छ । रिलिज नेपाल टिकटकको नेपालका लागि कन्टेन्ट पार्टनर कम्पनी हो ।
अब यसबाट फेरिफाई भएका टिकटक मोनिटाइज समेत हुने उल्लेख छ । मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन् ।
यसका लागि अकाउन्ट भेरिफाई गर्न रिलिज नेपाल डटकमको वेबसाइटमा राखिएको फाराम भर्नुपर्ने छ । फाराम भरेको ४५ देखि ६० दिनभित्र अकाउन्ट फेरिभाई हुनेछ ।
तर रिलिज नेपालले टिकटक भेरिफिकेसनका लागि भन्दै रकम उठाइरहेको देखिएको छ । टेकपानासँगको कुराकानीमा टिकटक इन्डियाले यसरी रकम उठाउनु गैरकानूनी रहेको बताएको छ ।
(हामी टिकटकको आधिकारिक धारणा पर्खिरहेका छौं । कृपया यसका लागि आफ्नो कुनै पनि जानकारी नदिन र रकम भुक्तानी नगर्न अनुरोध गर्दछौं । हामी टिकटको आधिकारिक जवाफ सहित समाचार फलोअपको रुपमा ल्याउने छौं । स.)
भेरिफाई अकाउन्टमा निलो भेरिफिकेसन चिन्ह देखिने छ । त्यही अकाउन्टले मोनिटाइजपछि पैसा आउने रिजिल नेपालले जानकारी दिएको छ । भेरिफिकेसन भएको एकाउन्ट ह्याक हुने र कन्टेन्ट हट्ने लगायतका समस्या पनि नहुने रिलिज नेपालको भनाइ छ ।
हालसम्म नेपालको टिकटकमा विज्ञापन देखिने गरेको छैन । यसअघि भेरिफाइड भइसकेका अकाउन्टमा समेत विज्ञापनका लागि एउटा नोटिफिकेसन आउने रिलिज नेपालका आईटी हेड राजकुमार श्रेष्ठले बताए ।