close

एनसीएचएलको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको मोबाइल मनी ‘नमस्ते पे’

टेकपाना टेकपाना

जेठ ७, २०७८ १८:१९

एनसीएचएलको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको मोबाइल मनी ‘नमस्ते पे’

काठमाडाैं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा स्थापना गरेकाे नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सम्झौता भएको छ ।

याे सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एनडीपीसीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छ्याैट गर्न सक्नेछ ।

त्यस्तै एनडीपीसीले आफ्नो वित्तिय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ्ग पहुँच बढाउन थप पहल गर्ने छ ।

यसको परिक्षण सुरुवात चाैंथो राष्ट्रिय सूचना तथा प्रविधि दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

मोबाइल वालेट ‘नमस्ते पे’ सञ्चालनमा आएपछि अनलाइन र अफलाइन दुवै अवस्थामा सुविधा लिन सकिने जनाइएकाे छ । साथै फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्त मोबाइल वालेट प्रयोग गर्न मिल्ने छ ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकाे छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हाे ।

राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले अन्य मोबाइल वालेट कम्पनीजस्तै भुक्तानी सेवा प्रदायकको लागि अनुमति प्राप्त गरेको हो । तर, कम्पनीले नेपाल टेलिकमको सिमकार्ड नम्बरलाई नै लिंक गरेर सेवा दिनेछ ।

कम्पनीले राष्ट्र बैंकलाई दिएको जानकारीमा एयरटाइम टप–अपलाई प्रयोगमा ल्याउने छ । यसको अर्थ कम्पनीले नेपाल टेलिकमको मोबाइलमा भएको ब्यालेन्सलाई कारोबार रकमको रुपमा समेत प्रयोगमा ल्याउने छ ।

तर, मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ ।

रिचार्जमा दूरसञ्चार सेवा शुल्कलगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो । त्यसका लागि पहिलो चरणमा कम्पनीले यूएसएसडी च्यानल प्रयोग गर्ने गरी तयारी गरको उल्लेख छ ।

यूएसएसडी अर्थात हामीले मोबाइल ब्यालेन्स हेर्नका लागि प्रयोग गर्ने कोडजस्तै कोड टाइप गरेको भरमा पनि कारोबार गर्न सकिने छ । यो हुँदा अफलाइन कारोबार हुनेछ । यो एसएमएस जस्तै हो ।

तर, यो एसएमएसभन्दा धेरै नै सुरक्षित हुनेछ । यो भएको खण्डमा फिचर फोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सहजै कारोबार गर्न सक्नेछन् ।

सँगै वालेट पनि उपलब्ध हुनेछ । जुन अनलाइन प्रयोगकर्ताका लागि प्रभावकारी हुनेछ । यसमार्फत प्रयोगकर्ताले विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् । जसमा भुक्तानी सेवाका लागि राष्ट्रिय वाणिज्य बैंक सेटलमेन्ट बैंकको रुपमा रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१