काठमाडौं । भारतको दूरसञ्चार विभागले फाइभजी परीक्षणका लागि सेवाप्रदायकलाई फ्रिक्वेन्सी छुट्याएको छ । दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलाेर, गुजरात, हैदरवाद लगायत देशका विभिन्न स्थानमा फाइभजी परीक्षणका लागि विभागले फ्रिक्वेन्सी उपलब्ध गराएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार विभागले फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज व्याण्ड, ३.३–३.६ गिगाहर्ज ब्याण्ड र २४.२५–२८.५ गिगाहर्ज ब्याण्ड सेवाप्रदायकलाई विभिन्न स्थान अनुसार उपलब्ध गराएको हाे ।
यसअघि गएको मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडीया, एमटीएनएललाई फाइभजी परीक्षणको अनुमति प्रदान गरेको थियो । जसमा चिनियाँ प्रविधिको प्रयोगमा भने प्रतिबन्ध लगाइएको थियो ।
यसअन्तर्गत इरिक्सन, नोकिया, सामसङ र सी–डीओटीको प्रविधिले मात्र स्वीकृत पाएका छन् । कतिपय सेवाप्रदायकले आफैंले निमार्ण गरेको प्रविधि प्रयोगमा ल्याउने समेत जनाएका छन् ।
त्यसैका आधारमा अब सरकारले सेवा प्रदायलकाई फ्रिक्वेन्सी उपलब्ध गराएको हो । योसँगै अब सेवाप्रदायकले नियामकले उपलब्ध गराएको फ्रिक्वेन्सीमा देशका विभिन्न स्थानमा फाइभजी परीक्षण गर्नेछन् ।