close

स्मार्टफोनमा यसरी लुकाउनुहोस् आफ्नो गोप्य फोटो र भिडिओ

टेकपाना टेकपाना

जेठ १६, २०७८ १३:२०

स्मार्टफोनमा यसरी लुकाउनुहोस् आफ्नो गोप्य फोटो र भिडिओ

काठमाडौं । कहिले काहिँ हामी आफ्नो स्मार्टफोनबाट क्लिक गरेको फोटो वा भिडिओ फोनको ग्यालरीमा राख्न चाहँदैनौं । किनकि त्यहाँ रहेको फोटो वा भिडिओ सहजै अरुले देख्न सक्छन् ।

कहिले काहिँ हामी आफ्ना कुनै फोटोहरु हेर्नका लागि साथीभाइ वा परिवारका सदस्यलाई आफ्नो फोन दिन्छौं । यस्तोमा स्वाइप गर्दा गर्दै उनीहरु त्यस्ता फोटो वा भिडिओमा पुग्छन्, जो हामीले देखाउन चाहेका हुँदैनौं ।

यस किसिमको समस्याबाट बच्नका लागि तपाईंका लागि ग्यालरी लकको सुविधा त हुन्छ, तर हामीले भर्खरै कुरा गरेको जोखिमको अवस्थामा भने यो विधि पर्याप्त हुँदैन । किनभने हामीले आफ्नो ग्यालरीका तस्वीर हेर्नकै लागि अरुलाई आफ्नो स्मार्टफोन दिएको अवस्थामा त्यस्तो व्यक्तिले कहाँसम्म स्वाइप गर्छ र कुन तस्वीरसम्म पुग्छ, त्यसको नियन्त्रण हामीसँग हुँदैन ।

यस्तो अवस्थामा तपाईंका लागि सबैभन्दा राम्रो उपाय भनेको त्यस्ता फोटो र भिडिओलाई ग्यालरीबाट लुकाउनु नै हो । आईफोन सहितका अधिकांश पछिल्ला स्मार्टफोनमा यस किसिमको फिचर रहेको हुन्छ ।

स्मार्टफोनमा कसरी लुकाउने फोटो र भिडिओ ?

अहिलेको समयमा धेरैजसो प्रयोगकर्ताले गुगल फोटोज एप प्रयोग गरिरहेका हुन्छन् । जसमा फोटो र भिडिओ अर्काइभ गर्ने विकल्प रहेको हुन्छ । साथै यो फिचर एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टमका प्रयोगकर्ताका लागि उपलब्ध छ ।

कुनै निश्चित फोटो वा भिडिओ लुकाउनका लागि सुरुमा गुगल फोटोजमा जानुहोस् र आफूले लुकाउन चाहेको फोटो र भिडिओ छनौट गर्नुहोस् । त्यसपछि माथि दायाँ कुनामा दिइएका तीन वटा डटमा ट्याप गर्नुहोस् । त्यहाँ रहेको मुभ टु अर्काइभको विकल्प छनौट गर्नुहोस् ।

यसो गर्दा तपाईंले भर्खरै छनौट गरेका सबै फोटो र भिडिओ अर्काइभमा जानेछन् । यसरी अर्काइभमा गएका फोटो तथा भिडिओलाई तपाईंले तल रहेको एल्बममा ट्याप गरेर अर्काइभ फोल्डरमा ट्याबमा थिच्नुहोस् ।

कतिपय स्मार्टफोन निर्माता कम्पनीले फोनमा फर्स्ट पार्टी ग्यालरी एप दिएका हुन्छन् । जसमा हाइडिङ फिचर समेत रहेको हुन्छ ।

सामसङ

आफ्नो मोबाइलको ग्यालरीमा जानुहोस् र आफूले लुकाउन चाहेको भिडिओ तथा फोटोलाई छनौट गरेर छुट्टै फोल्डर तयार पार्नुहोस् । अब सबैभन्दा तल रहेको एल्बम अप्सनमा ट्याप गर्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा जानुहोस् । त्यहाँ तपाईंले हाइड/अनहाइड एल्बमलाई छनौट गरेर लुकाउन चाहेको एल्बमको अगाडिको टोगल अफ गरिदिनुहोस् ।

साओमी

आफ्नो मोबाइलमा भएको ग्यालरी एपमा जानुहोस् र ती सबै फोटो तथा भिडिओलाई छनौट गर्नुहोस्, तपाईं जसलाई लुकाउन चाहनुहुन्छ । त्यसपछि तल रहेको मेनुबाट हाइड बटनमा जानुहोस् । अब छनौट गरिएका सबै तस्वीर ग्यालरी एपमा देखिने छैनन् ।

रियलमी

रियलमीमा एउटा डेडिकेटेड प्राइभेट फिचर छ, जसलाई तपाईंले सेटिङबाट इनेबल गर्न सक्नुहुन्छ र प्राइभेट सेफमा लुकाउनका लागि फोटो र भिडिओलाई ट्रान्सफर गर्न सक्नुहुन्छ । यो प्राइभेट सेफ इन्क्रिप्टेड हुन्छ र यसमा पासवर्ड बाट समेत सुरक्षा दिन सकिन्छ ।

यसका लागि सुरुमा आफ्नो मोबाइलको सेटिङबाट सेक्युरिटी हुँदै प्राइभेट सेफमा गएर त्यसलाई इनेबल गर्नुहोस् । अब तपाईं ग्यालरी वा फाइल एक्सप्लोररमा जान सक्नुहुन्छ । त्यहाँबाट लुकाउन चाहेका फाइल, फोटो र भिडिओ छनौट गर्नुहोस् र सेफमा लैजानुहोस् ।

आईफोन

आईफोनका लागि सुरुमा फोटो एप खोल्नुहोस् । अब माथि दिइएको सेलेक्ट बटनमा ट्याप गर्नुहोस् र लुकाउन चाहेका फोटो तथा भिडिओ छनौट गर्नुहोस् । अब तल बायाँतर्फ दिइएको शेयर आइकनमा ट्याप गर्नुहोस् र हाइडमा दबाउनुहोस् ।

यसरी लुकाइएका फोटो तथा भिडिओ एक्सेस गर्न तपाईंले एल्बममा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि तलतर्फ स्क्रोल गर्दै हिडन अप्सनमा जानुहोस् । आईफोनमा तपाईंको फोटो एपबाट हिडन एल्बमलाई पूर्ण रुपमा लुकाउने विकल्प समेत रहेको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३