close

वर्डप्रेस नेपालले अभिभावक गुमाएको दिन

टेकपाना टेकपाना

जेठ १८, २०७८ २१:१८

वर्डप्रेस नेपालले अभिभावक गुमाएको दिन

सुवास खड्का/-
उज्वल थापा अब हामीसामु रहनुभएन भन्ने खबर सुन्दा पत्याउनै मुस्किल भइरहेको छ । युवालाई सधै मार्ग देखाउने उज्वल दाइ हाम्रा आशाका धरोहर हुनुहुन्थ्यो । अभिभावक हुनुहुनुहुन्थ्यो । उर्जाको स्रोत हुनुहुन्थ्यो । तर फेरि अब उहाँको भौतिक शरीर हामीसँग रहनेछैन ।

याे खबरले उहाँले हुर्काएकाे वर्डप्रेस नेपाल परिवार स्तब्ध छ, शोकाकुल छ । आज वर्डप्रेस नेपालले आफ्नाे सहसंस्थापक र अभिभावक गुमाएकाे छ । वर्डप्रेस नेपालकाे परिकल्पना गर्ने र एउटा दिशा दिने अग्रज व्यक्तित्वकाे अभाव हामीलाई सधैं भइरहनेछ ।

वर्डप्रेस नेपालको स्थापनाकालदेखि नै उहाँसँग सहकार्य गरिरहेका थियौं । पानीपाेखरीस्थित उहाँको निवासमा वर्डप्रेस नेपालका योजना बनाउँथ्यौं । देशैभरी वर्डप्रेसरकाे जमात कसरी तयार पार्ने, विशेषगरी वर्डप्रेस नेपालले देशको आईसीटी क्षेत्रलाई कसरी सकारात्मक प्रभाव पार्न सक्छ, अर्थतन्त्रमा कसरी याेगदान दिन सक्छ भनेर हामी योजना बनाउँथ्यौं ।

ती योजनामा दृढ विश्वास र दृढ संकल्प राखेर हामी अघि बढिरहेका थियौं । प्रारम्भिक दिनमा हामीलाई काम गर्न केही दुःख पनि भएको थियो । उहाँले सधैं भन्नुहुन्थ्यो, ‘सानो समूहबाट ठूलो समूह बन्छ । सानातिना काम गर्न कहिले पनि पछि हट्न हुन्न ।’

यसैकाे प्रतिफलस्वरूप २०१२, २०१३ हुँदै २०२१ सम्म आउँदा वर्डप्रेस नेपाललाई सातै प्रदेशमा विस्तार गर्न सकेका छौं । आज वर्डप्रेस नेपालमा करिब ८ हजार सदस्य भइसक्नु भएको छ । वर्डप्रेस नेपालमा आवद्ध सदस्यहरू स्वराेजगार बनिरहेका छन् र राेजगारीका अवसर प्रदान गरिरहेका छन् । आईटी उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्न याे भूमिका खेलिरहेका छन् ।

तर बिडम्बना, याे साेचकाे बिउ जन्माउने उज्वल दाइलाई हामीले गुमाउनुपरेकाे छ । अप्ठ्यारामा पलहरुमा हौसला दिने अभिभावक गुमाएका छाैं ।

अहिले वर्डप्रेस नेपाल विश्वसामु परिचित कम्युनिटी बनेको छ । यो अवस्थामा आउन उहाँको ठूलो देन छ ।

२०१३ को मध्यतिर हामीलाई उहाँले भन्नुभयो, ‘देश परिवर्तन गर्न राजनीति तिरै लाग्नुपर्छ ।’

हामी आईटीममा लागेका साथीहरू आईटीमै लाग्याैं । उहाँ राजनीतिमा लागेपनि वर्डप्रेस नेपालकाे बलियाे खम्बाकाे रूपमा हुनुहुन्थ्याे । हरेकपटक उहाँकाे साथ सल्लाह लिएर अगाडि बढ्थ्याैं ।

यी सबै अब स्मृतिमा रहने भए अब ।

हामी उहाँको योगदानलाई सम्झिरहने छाैं । उहाँले देखाएकाे बाटाेमा हिँड्ने छाैं । सपना मर्न दिने छैनाैं ।

उहाँको सच्चा सम्मान र श्रद्धाञ्जलीका लागि वर्डप्रेस नेपालले आईसीटी क्षेत्रको विकासका अझ दृण भएर भूमिका खेल्ने प्रढ गर्दछ ।

अलबिदा उज्वल दाइ !!

(लेखक वर्डप्रेस नेपाल कम्युनिटीका संयाेजक हुन् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३