close

नेपाली क्रिकेट टिमकाे जर्सी डिजाइन गर्नेलाई एक लाख रुपैयाँ

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १२:३७

नेपाली क्रिकेट टिमकाे जर्सी डिजाइन गर्नेलाई एक लाख रुपैयाँ

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) र माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरेको छ। क्यान र एमएसटीले साेमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरेका हुन् । एमएसटी नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक हाे ।

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने बताइएकाे छ । त्यस्तै कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियमअनुसार नै डिजाइन गर्नुपर्ने छ ।

‘हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौं । आशा छ यसमा धेरैभन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ । उत्कृष्ट डिजाइन गर्नेलाई पुरस्कार स्वरुप नगद एक लाख पनि माइ सेकेन्डले प्रदान गर्नेछ,’ माइ सेकेन्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकीले भने ।

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोस्राे शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ ।

आफ्नो डिजाइन दिने अन्तिम मिति यसै महिनाको जुन १७ तारिखसम्म रहेको छ । डिजाइन क्यानको ईमेलमा गर्नुपर्ने हुन्छ भने यससम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१