close

फोनेपेको सीईओमा पुनः दिवस कुमार नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

टेकपाना टेकपाना

बैशाख ७, २०८३ १६:५७

फोनेपेको सीईओमा पुनः दिवस कुमार नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

काठमाडौँ । डिजिटल पेमेन्ट नेटवर्क फोनपे (फोन पेमेन्ट सर्भिस लिमिटेड) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस कुमार पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिएको हो ।

सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका दिवससँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार र फिनटेक क्षेत्रमा दुई दशक बढीको अनुभव छ । उनी कम्पनीको संस्थापक टोलीका सदस्य हुन् । यसअघि प्रमुख प्राविधिक अधिकृत (सीटीओ) का रूपमा उनले फोनेपेको प्रविधि विकास र विस्तारमा काम गरेका थिए ।

सुरुमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) का रूपमा स्थापित फोनेपे अहिले डिजिटल भुक्तानी पूर्वाधारका रूपमा परिचित छ । फोनेपेले बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै सञ्जालमा आबद्ध गर्दै नेपालमा पहिलोपटक ‘ओपन लुप क्यूआर’ भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको थियो ।

हाल कम्पनीले फोनपे क्यूआर, फोनपे डाइरेक्ट, फोनपे बिल, फोनपे ट्याग, भर्चुअल क्रेडिट कार्डजस्ता सेवामार्फत लाखौँ प्रयोगकर्ता र व्यवसायीलाई सेवा प्रदान गरिरहेको छ ।

कम्पनीका अनुसार हाल फोनेपे नेटवर्कमार्फत दैनिक २५ लाखभन्दा बढी पटक कारोबार हुने गरेको छ । जसको दैनिक कारोबार रकम १५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । फोनेपेले भारत र चीनका पेमेन्ट नेटवर्कसँग इन्टिग्रेसन गर्दै सीमापार (क्रस-बोर्डर) डिजिटल भुक्तानी सेवा समेत विस्तार गरेको छ ।

यस्तै, विभिन्न बैंकहरूसँगको सहकार्यमा सुरु गरिएको भर्चुअल क्रेडिट कार्ड सेवाअन्तर्गत डेढ वर्षकै अवधिमा ३० हजारभन्दा बढी कार्ड जारी भइसकेका छन् । हाल देशका ७७ ओटै जिल्लामा २० लाखभन्दा बढी क्यूआर मर्चेन्टहरू फोनेपेको सञ्जालमा आबद्ध छन् ।

पुनः नियुक्तिपछि प्रतिक्रिया दिँदै सीईओ दिवस कुमारले आगामी दिनमा फोनेपेलाई भुक्तानी सञ्जालमा मात्र सीमित नराखी 'पूर्ण वित्तीय प्लेटफर्म' का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

उनले आफ्नो नयाँ कार्यकालमा क्षेत्रीय तथा अन्तरदेशीय भुक्तानी अन्तरसम्बन्ध, इकोसिस्टम विस्तार र वित्तीय पहुँच कम भएका क्षेत्रमा वित्तीय समावेशीकरण बढाउने तीन प्रमुख प्राथमिकतामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । यसका साथै, फोनेपेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रियालाई समेत अगाडि बढाउने उनले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १७:१३