काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विश्वकै पहिलो थ्रीडी प्रिन्टेड घरको समुदाय (कोलोनी) बनिरहेको छ । यो टोलमा सबै घर थ्रीडी प्रिन्टेड हुनेछन् ।
पलारी ग्रुप तथा माइटी बिल्डिङ्सले यसको घोषणा गरेका हुन् । क्यालिफोर्नियाको कोचेला उपत्यकामा यस्ता घरहरुको छरछिमेक नै बन्दैछ ।
पलारी ग्रुप एउटा दीगो रियल स्टेट विकासकर्ता कम्पनी हो भने माइटी बिल्डिङ्स निर्माण सम्बन्धि स्टार्टअप कम्पनी हो । जसले बिल्डिङ किट बनाउनका लागि थ्रीडी प्रिन्टिङ तथा रोबोटिक अटोमेसन प्रयोग गर्दछ ।
यी दुवै कम्पनीले मिलेर क्यालिफोर्नियाँमा ५ एकड जमिन खरिद गरिसकेको बताइएको छ । जहाँ १५ वटा वातावरणीय मैत्री घरको एउटा समुदाय बनाइने द गार्जियनले उल्लेख गरेको छ । आउँदो बसन्त ऋतुसम्म यो समुदाय तयार भइसक्ने बताइएको छ ।
source: The Guardians
जब यी सबै घरहरु बनेर तयार हुनेछन्, तब यो थ्रीडी प्रिन्टेड घरहरु भएको विश्वकै पहिलो प्लान्ड कम्युनिटी हुनेछ । माइटी बिल्डिङले आफ्नो ओकल्याण्ड स्थित हेडक्वार्टरको एउटा वेयरहाउसमा थ्रीडी प्रिन्टर्सको सहयोगमा घर तयार पार्ने गर्छ ।
माइटी बिल्डिङले प्रयोग गर्ने सामग्रीहरुले तुरुन्तै कडा स्वरुप ग्रहण गर्दछन् । जसका कारण यसमा छत लगाउने र इन्सुलेसनको तह लगाउने जस्ता काम छिटो रुपमा सम्पन्न गर्न सकिन्छ ।
यी थ्रीडी प्रिन्टेड घरको मूल्य पाँच लाख ९५ हजार डलरदेखि नौ लाख ५० हजार डलरसम्म हुनेछ । माइटी होम्सको दाबी छ कि यो प्रक्रियामा ८० प्रतिशत काम स्वचालित तरिकाबाट हुन्छ ।
Source The Guardians
साथै परम्परागत निर्माणको तुलनामा यसमा ९५ प्रतिशत श्रम शक्ति कम खर्च हुने र खेर जाने सामग्री समेत १० गुणा कम भएर जाने बताइएको छ । कम्पनीले दिएको जानकारी अनुसार उसको प्रिन्टरले ३५० वर्ग फिट आकारको घर २४ घण्टाभन्दा कम समयमा बनाउने क्षमता राख्दछ ।
सन् २०१९ मा मेक्सिकोको एउटा गैरनाफामूलक संस्थाले समेत गरिब परिवारका लागि थ्रीडी प्रिन्टेड घर उपलब्ध गराउने घोषणा गरेको थियो । साथै अस्टिन, टेक्सास लगायतका स्थानमा थ्रीडी प्रिन्टेड घर यस वर्षको अन्त्यसम्ममा जडान गरिने जनाइएको छ ।