काठमाडौं । नजिकिँदै गरेको ओलम्पिकका खेलाडी र यसका फ्यानहरुलाई लक्षित गर्दै एप्पलले विभिन्न देशका झण्डा अंकित एप्पल वाच ब्याण्ड सार्वजनिक गरेको छ ।
२२ देशको झण्डाको रंगमा एप्पलले आफ्नो इन्टरनेश्नल एप्पल वाच ब्याण्ड संकलनमा सीमित ‘स्पोर्ट लुप ब्याण्ड’ सार्वजनिक गरेको हो । अर्को महिनादेखि सुरु हुन लागेको ओलम्पिकलाई लक्षित गर्दै एप्पलले यो सीमित संस्करण बजारमा ल्याएको हो ।
प्रयोगकर्ताले उक्त ब्याण्डसँग मिल्दो आफ्नो देशको झण्डाको रंगको वाच फेस पनि डाउनलोड गरेर आफ्नो एप्पल वाच पर्सनलाइज गर्न सक्छन् । आफ्नो देशप्रतिको प्रेम झल्काउने उद्देश्यले यो स्पोर्ट लुप तयार गरेको कम्पनीले जनाएको छ ।
यो ब्याण्ड अस्ट्रेलिया, बेल्जियम, ब्राजिल, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, बेलायत, ग्रिस, इटली, जमैका, जापान, मेक्सिको, नेदरल्याण्ड, न्युजिल्यान्ड, रसिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिकाका झण्डाका रंगहरुमा उपलब्ध छन् ।
एप्पलको अन्तर्राष्ट्रिय संकलनको यो वाच ४० एमएम र ४४ एमएमको साइजमा उपलब्ध छ । यसको मूल्य ४९ अमेरिकी डलर अर्थात् करिब ५,९०० रुपैँया पर्न आउँछ ।
ब्याण्डको प्याकेजिङमा प्रयोगकर्ताको सहजताका लागि आफ्नो ब्याण्डसँग सुहाउँदो देशको झण्डा कसरी डाउनलोड गरेर प्रयोग गर्ने भनेर एप क्लिपको व्यवस्था गरिएको छ ।
आफ्नो देशको मात्र नभई प्रयोगकर्ताले आफूलाई मनपर्ने उपलब्ध देशको जुनसुकै झण्डाको फेस डाउनलोड गरेर फेस शेयरिङमार्फत अरु एप्पल वाच प्रयोगकर्ताहरुसँग पनि शेयर गर्न सकिन्छ ।