close

६४ करोडभन्दा बढीमा बिक्री भयो वर्ल्ड वाइड वेबको सोर्सकोड

टेकपाना टेकपाना

असार १७, २०७८ २०:२३

६४ करोडभन्दा बढीमा बिक्री भयो वर्ल्ड वाइड वेबको सोर्सकोड

काठमाडौं । वर्ल्ड वाइड वेब (डब्लूडब्लूडब्लू) को सक्कली सोर्सकोड ५.४ मिलियन डलर अर्थात ६४ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएकाे छ । डब्लूडब्लूडब्लू (WWW) का आविष्कारक सर टिम बर्नर्स लीले बोलकबोलमार्फत आफूसँग भएको सोर्सकोड सहितको एनएफटी (डिजिटल प्रविधिमाथिको स्वामित्व) एक अपरिचित व्यक्तिलाई बिक्री गरेका हुन् ।

एनएफटी डिजिटल सम्पत्तिको स्वामित्वको यस्तो प्रमाणपत्र, जसको कुनै भौतिक अस्तित्व छैन । त्यसमा प्रतिलिपि अधिकारको नियन्त्रण समेत अनिवार्य छैन । आलोचकहरू यसलाई छोटो समयमा धनी बन्ने स्किमको रुपमा व्याख्या गर्नुका साथै वातावरणका लागि समेत हानिकारक हुने बताउँछन् ।

उक्त सोर्स कोडको लिलामी २३ जुनमा एक हजार डलरबाट सुरु भएको थियो । सथबेज (ब्रोकर कम्पनी) का अनुसार एउटा एनएफटीको रुपमा विभिन्न चार वटा वस्तुहरू बिक्री गरिएको थियो । जसमा सोर्स कोडको ‘टाइम स्ट्याम्प’, कोड लेख्दै गरेको एनिमेटेड भिडिओ, सर टिमले लेखेको चिठ्ठी र सर टिमले सिर्जना गरेको कोडको डिजिटल पोस्टर रहेका छन् ।

डब्लूडब्लूडब्लूको सोर्सकोडको बिक्रीले एनएफटीको रुपमा ट्वीटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट बिक्री (२.९ मिलियन डलर) को रेकर्ड तोडेको छ । सर टिमले सन् १९८९ मा इन्टरनेटमा विभिन्न टुक्रामा विभाजित सूचनालाई हाइपरलिङ्कको रुपमा आपसमा जोड्ने गरी वर्ल्ड वाइड वेबको आविष्कार गरेका थिए ।

Web inventor Sir Tim Berners-Lee warns of widening digital divide
वर्ल्ड वाइड वेब (डब्लूडब्लूडब्लू) का आविष्कारक सर टिम बर्नर्स ली

उनले आफ्नो आविष्कारको पेटेन्ट दर्ता नगराइकनै पहिलो वेब ब्राउजर र सर्भर निर्माण गरे । सन् १९९३ मा उनी सर्न नामक एउटा अनुसन्धान संस्थामा काम गर्दथे । त्यस समयमा उनले स्वेच्छापूर्वक प्रविधि माथिका सबै अधिकारहरू त्याग्दै खुला डोमेनमा राखे ।

अन्ततः जब एनएफटी लिलामीको घोषणा भयो, सर टिमले द गार्जियनलाई भने, ‘वेबमा रहेका मूल कोड तथा प्रोटोकलहरू पहिले जस्तै रोयल्टी फ्रि हुनेछन् । म वेब बिक्री गरिरहेको छैन- तपाईंले लिङ्कहरू पछ्याउनका लागि पैसा तिर्नुपर्ने छैन । मैल यतिसम्म कि सोर्स कोड समेत बेचिरहेको छैन । ‘म त केवल स्वयम्‌ले लेखेको पाइथन प्रोग्रामको तस्वीर बेचिरहेको छु । मैले हस्ताक्षर गरेर भित्तामा झुन्ड्याउँदा सोर्सकोड कस्तो देखिन्थ्यो भन्ने जस्तो मात्रै हो ।’

ऐतिहासिक व्यक्तित्वको हस्तलिखित कागजातसँग तुलना गर्दै सथबेजले यसको बिक्रीलाई ‘अस्तित्वमा रहेको पहिलो वेब ब्राउजरको हस्ताक्षरित कोडको प्रति मात्र’ भनेर व्याख्या गरेको छ । वातावरणमाथि पर्ने प्रभावको विषयलाई लिएर ब्लकचेनजस्तै एनएफटीको समेत आलोचना हुने गरेको छ । जहाँ स्वामित्वको विवरण डिजिटल लेजरको रुपमा संग्रह गरिएको हुन्छ । यसलाई सञ्चालन गर्न निकै धेरै मात्रामा ऊर्जा आवश्यक पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५