close

ट्याक्सी बुक गर्न सकिने मोबाइल एप ट्याक्सीमाण्डु सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २७, २०७६ १३:४०

ट्याक्सी बुक गर्न सकिने मोबाइल एप ट्याक्सीमाण्डु सार्वजनिक

यात्रुले आफ्नो आवश्यकता अनुसार ट्याक्सी बोलाउने सुविधा भएको मोबाइल एप ट्याक्सीमाण्डु सार्वजनिक भएको छ । बिहीबार काठमाडौँको मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा आयोजित एक कार्यक्रम माझ ट्याक्सीमाण्डु एप सार्वजनिक भएको हो ।  

चोकचोकमा बसेर कुर्नु वा ट्याक्सी लिएर यात्रु खोज्दै हिड्नुपर्ने झण्झटबाट चालकले समेत मुक्ति पाउने ट्याक्सीमाण्डु प्रालिका प्रवन्ध निर्देशक अर्जुन केसीले बताए । ट्याक्सी बुक गरेर आफु रहेकै स्थानमा बोलाउन सकिने सुविधाका कारण सरकारले तोकेको शुल्कभन्दा करिब १० प्रतिशत अतिरिक्त सेवा शूल्क लाग्ने प्रवन्ध निर्देशक केसीको भनाई छ । 

ट्याक्सीमाण्डुमा आवद्ध ट्याक्सी चालकहरुलाई बढिभन्दा बढि यात्रु उपलव्ध गराउने विषयमा आफुहरु लागिपर्ने ट्याक्सीमाण्डुकी प्रमुख कार्यकारी अधिकृत स्वीटी खत्रीले जानकारी दिइन् । यात्रु र चालकको सुरक्षालाई मध्यनजर गर्दै चालक दर्ता प्रक्रिया नागरिकता, लाइसेन्स, ट्याक्सी नम्बर, बिल बुक लगायतका डकुमेन्ट अनिबार्य गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीको भनाई छ । 

टयाक्सी चालक र यात्रुका लागि अलग अलग एप तयार पारिएको छ । चालक वा यात्रुले गुगल प्ले स्टोरबाट ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्नेछन् । चालकले ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर एप डाउनलोड गरी यो एपको सुविधा लिन सकिनेछ । 

ट्याक्सीमाण्डुमा आवद्ध भएका चालकका लागि विभिन्न सुविधा र आयश्रोतका विकल्पहरु पनि खोजिने प्रवन्ध निर्देशक केसीले बताए । एप सार्वजनिक गर्न आयोजित कार्यक्रममै ट्याक्सीमाण्डुसँग आवद्ध चालकलाई ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने सम्झौता समेत भएको छ । त्यस्तै ई–सेवाबाट भुक्तानी गर्ने चालक र यात्रुले भुक्तानी गरेको रकममा १० प्रतिशत क्यास ब्याक पाउने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३