काठमाडौं । माइक्रोसफ्टले सबै विन्डोज प्रयोगकर्तालाई सिस्टम अपडेट गर्न आग्रह गरेको छ । विन्डोजमा गम्भिर किसिमको सुरक्षा कमजोरी देखिएपछि अपडेटमा ढिलाई नगर्न आग्रह गरिएको हो ।
कम्पनीले सुरक्षा कमजोरी समाधान गर्दै विन्डोजका लागि आपतकालीन सेक्युरिटी अपडेट जारी गरेको छ । यो अपडेट नगर्दा तपाईं ह्याकिङको शिकार समेत बन्न सक्नुहुन्छ ।
यो अपडेटमार्फत विन्डोजमा प्रिन्टनाइटमेयर (PrintNightmare) सेक्युरिटी सम्बन्धी समस्यालाई फिक्स अर्थात समाधान गर्न खोजिएको छ । यो समस्याको बारेमा एक अनुसन्धानकर्ताले गत हप्ता नै रिपोर्ट गरेका थिए ।
माइक्रोसफ्टका अनुसार सकेसम्म चाँडो यो अपडेट गर्नुपर्ने छ । कम्पनीले ६ जुलाईका दिन सेक्युरिटी अपडेट जारी गरेको थियो । यसबाट सीभीई-२०२१-१६७५ तथा अन्य रिमोट कोड एक्जिक्युसन एक्सप्लोइटमा विण्डोज प्रिन्ट स्पुलर सर्भिसको सुरक्षा दिइएको छ ।
विन्डोज प्रिन्ट स्पुलरलाई नै प्रिन्टनाइटमेयर भन्ने गरिन्छ । गत हप्ता मात्र अनुसन्धानकर्ताले विण्डोजको प्रिन्टनाइटमेयरमा रहेको यस किसिमको कमजोरी फेला पारेका थिए । जसलाई उपयोग गरेर ह्याकरले रिमोट कोड एक्जिक्युसन गरी गलत स्वार्थ पूर्ति गर्न सक्ने उच्च जोखिम छ ।
यसमार्फत ह्याकरले तपाईंको कम्प्युटरमा कुनै पनि प्रोग्रामलाई इन्स्टल गर्न सक्छन् । यस बाहेक उनीहरूले एड्मिनको अधिकार सहित नयाँ अकाउन्ट बनाउन समेत सक्छन् । यसबाट कुनै ठूलो प्रकारको ह्याकिङको घटना गराउन सकिने अवस्था छ ।
यो समस्या पहिचान भएसँगै माइक्रोसफ्टले त्यसलाई तत्काल फिक्स गर्ने दिशामा काम अगाडि बढाएको थियो । जब विण्डोजको प्रिन्ट स्पुलरले सही किसिमले काम गर्दैन, त्यस्तो अवस्थामा यस किसिमको रिमोट कोड एक्जिक्युट गर्न सकिने बताइएको छ ।
यदि तपाईं पनि विण्डोज कम्प्युटर वा ल्यापटप प्रयोग गर्नुहुन्छ भने आफ्नो विण्डोज अपडेट गर्न ढिलो नगर्नुहोस् । कसरी गर्ने अपडेट ? विण्डोज अपडेटका लागि आफ्नो कम्प्युटरको स्टार्ट बटन हुँदै सेटिङमा जानुहोस् । अब त्यहाँ रहेको सेक्युरिटी एण्ड अपडेट हुँदै विण्डोज अपडेटमा जानुहोस् र उपलब्ध अपडेटलाई इन्स्टल गर्नुहोस् ।