close

टिकटकमा लाइभ स्ट्रिमिङ गरेर लाखौं कमाउँदै कृषक

टेकपाना टेकपाना

असार २५, २०७८ १६:३२

टिकटकमा लाइभ स्ट्रिमिङ गरेर लाखौं कमाउँदै कृषक

काठमाडौं । चीनको एक गाउँमा जन्मिएका जिन गुओउई सन् २०१८ सम्म ठूलो ऋणमा डुबेका थिए । त्यतिबेला उनी युनानको लिजियाङका सडकमा पर्यटकलाई फलफूल बेच्ने काम गर्थे ।

तर आज उनी सामाजिक सञ्जालमा चर्चित ब्रदर पोमेग्रेनेट (अनार दाइ) को नामले परिचित छन् र अहिले चिनियाँ टिकटकमा, जुन ‘दोउयिन’ को नामले परिचित छ, उनको करिब ७० लाख ३० हजार फलोअर छन् ।

दोउयिनमार्फत नै उनले गत वर्ष तीन करोड चिनियाँ यूआन (करिब पाँच अर्ब ५२ करोड रुपैयाँ) बराबरको फलफूल बेचेका थिए । एकचोटी त उनले २० मिनेट भित्र करिब ११ करोड रुपैयाँको अनार बिक्री गरेका थिए ।

यो चीनको पछिल्लो समयमा विकास भइरहेको ग्रामीण उद्यमशीलताको एक उदाहरण हो । पछिल्लो समयमा चीनका ग्रामीण क्षेत्रमा खेती गरिरहेका कृषकहरूले आफ्ना सामग्रीहरू अनलाइन लाइभ स्ट्रिमिङ तथा छोटो भिडियोहरू बनाएर बजारीकरण तथा बिक्री गर्ने गरेका छन् ।

चीनको बाइटडान्स लिमिटेडको एप दोउयिनका अनुसार यो एप मार्फत कृषकहरूले कमाउने आम्दानी प्रत्येक वर्ष १५ गुणाले बढिरहेको छ । अर्का कृषक गुओ चेङचेङका दोउयिनमा करिब २५ लाख फलोअर्स छन् । उनको भिडियो मार्फत उपभोक्ताहरूले उनका कृषि उपजहरू खरिद गर्ने गरेका छन् ।

विच्याटमा भएको व्यावसायिक सेवा मार्फत पहिले उनले दिनमा करिब सय वटा अर्डर लिने गर्थिन् भने अहिले दोउयिनमार्फत उनले दैनिक ५०,००० अर्डर लिइरहेकी छिन् । दोउयिन लाइभ स्ट्रिमिङ मार्फत उनले हाल मासिक रुपमा १६ करोड ५७ हजार रुपैयाँ आम्दानी गरिरहेकी छिन् ।

गुओ र ब्रदर पोमेग्रेनेट (अनर दाइ) त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै थुप्रै युवाहरूले अहिले यसरी सामाजिक सञ्जालमार्फत कृषि उपज बेचेर लाखौँ कमाइरहेका छन् ।

दोउयिनका अनुसार यसरी लाइभ स्ट्रिमिङ मार्फत कृषि उपज बेच्नेहरूमा करिब ५४ प्रतिशत युवाहरू प्रवासी कामदार छन् । कोरोना महामारीका कारण करिब २० करोड ३० लाख प्रवासी कामदारहरू रोजगारी गुमाएर गाउँ फर्केका थिए ।

कोरोना महामारीका कारण उपभोक्ताहरू घरभित्रै थुनिएपछि ताजा तरकारीहरूको होम डेलिभरी कारोबार ह्वात्तै बढेको थियो । यसैको फलस्वरुप किसानहरूले अहिले सामाजिक सञ्जाल मार्फत सिधैँ किसानहरूलाई आफैंले तोकेको मूल्यमा उपजहरू बिक्री गरिरहेका छन् ।

ब्लुमबर्गबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३