close

ऐनामा आईफोनको सेल्फीः ‘शो अफ’ कि अरु नै केही ?

टेकपाना टेकपाना

असार २८, २०७८ २०:११

ऐनामा आईफोनको सेल्फीः ‘शो अफ’ कि अरु नै केही ?

काठमाडौं । के तपाईं पनि आईफोन प्रयोग गर्नुहुन्छ ? यदि हो भने, सायद तपाईंले ऐना अगाडि रहेर मोबाइलको मेन क्यामेराबाट सेल्फी खिच्नु भएकै होला । छैन भने पनि साथीभाइहरूले त्यसरी खिचेका सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेको त पक्कै पनि देख्नु भएको हुनुपर्छ ।

अझ विभिन्न वेबसाइट तथा युट्युव भिडिओहरूमा राम्रो सेल्फी कसरी लिने भनेर टिप्स पनि दिइएका हुन्छन्, त्यसमा पनि तपाईंले यो ट्रेन्डको विषयमा कुरा गरेको देख्नु भएको हुनुपर्छ । हुन त ऐना अगाडि खिचिने सेल्फी सामाजिक सञ्जालमा आएका अन्य ट्रेन्डहरू जस्तै एउटा सामान्य जीवनशैलीको विषय हो ।

तर रोचक कुरा यसरी ऐनामा प्रतिविम्वित गराएर सेल्फी लिनेमा अधिकांश आईफोन प्रयोगकर्ताहरू अगाडि छन् । के तपाईंले कहिल्यै सोच्नु भएको छ, यसरी सेल्फी किन खिचिन्छ ?

जे होस्, ऐना अगाडि सेल्फी खिच्ने प्रचलन ठ्याक्कै कसले, किन र कहिलेदेखि सुरु गर्‍यो भनेर यकिन साथ भन्न सकिने अवस्था त छैन । तर पनि हामीले आइतबार सामाजिक सञ्जालमार्फत हाम्रा पाठकहरूसँग ‘आईफोन प्रयोगकर्ताले ऐना अगाडि सेल्फी खिच्छन्, किन होला ?’ भनेर सोधेका थियौँ ।

यस विषयमा अधिकांशको प्रतिक्रियामा ‘शो अफ’ अर्थात ‘महँगो मोबाइल बोक्छु भनेर देखाउनको लागि’ भन्ने जवाफ आएको छ । कसै कसैले भने कुनै यकिन कारणले भन्दा पनि बजारमा चलेको ट्रेन्डलाई पछ्याएको जवाफ दिएका छन् ।

त्यस्तै केहीले आफूले लामो समयदेखि आईफोन प्रयोग गरे पनि आज सम्म त्यसरी फोटो नखिचेको समेत बताएका छन् । यस्तै धारणा राख्ने मध्येका एक हुन चर्चित हास्य टेली सिरियल ‘सक्किगोनि’ का हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ।

‘हुन त मैले पनि केही समय अघि देखि नै आईफोन प्रयोग गरिरहेको छु,’ उनी आफ्नो बुझाईको आधारमा भन्छन्, ‘तर त्यसरी अहिलेसम्म सेल्फी खिचेको छैन । सायद आफूले आईफोन बोकेको देखाउनकै लागि यसरी सेल्फी खिच्ने गरिएको हुनुपर्छ ।’

वास्तवमा भन्ने हो भने आईफोन यसका फिचरहरूका कारणले मात्र लोकप्रिय छैन । कम्पनीको ब्रान्डिङका कारणले गर्दा बजारमा यसलाई हैसियत अथवा प्रतिष्ठाको विषय मान्नेहरू पनि थुप्रै छन् ।

एप्पल कम्पनीको बजार रणनीति नै प्रयोगकर्तामा यस्तै किसिमको धारणा पैदा गराउने र त्यसैमा टेकेर महंगा ग्याजेट बिक्री गराउने रहेको देखिन्छ । आईफोन प्रयोगको रुपमा भन्दा पनि प्राप्तिको लागि बढी लोकप्रिय बनेको छ ।

सामान्य नागरिक मात्र होइन, प्रतिष्ठित व्यक्तिहरू पनि आईफोनका सौखिन छन् । आईफोन प्रतिष्ठित अनि हुने खानेले बोक्ने स्मार्टफोन भन्ने सोचाइ समेत धेरैमा रहेको पाइन्छ ।

यदि कोही कलाकार अथवा प्रतिष्ठित व्यक्तिले आईफोन बोकेको छैन भने जति नै महँगो फोन बोकेको भए पनि ‘ए मोबाइल त सामान्य बोक्दो रहेछ’ भनेर तुरुन्तै मूल्याङ्कन गर्ने गरिन्छ । यसको अर्थ पक्कै पनि आईफोन हाम्रो लागि सञ्चारको माध्यमा मात्र नभएर, समाजमा प्रतिष्ठाको विषय समेत बन्दै गएको स्पष्ट छ ।

त्यसमाथि आईफोनको पछाडि भागमा यसको लोगो रहेको हुन्छ । सामान्य सेल्फी खिच्दा कुन फोनबाट खिचेको कसैले भेउ पाउँदैन । त्यसैले आफूले आईफोन बोकेको देखाउनकै लागि ऐना अगाडि सेल्फी खिच्ने गरेको धारणा अधिकांशले बनाएका हुनसक्छन् ।

तर आईफोन प्रयोगकर्ताले ऐना अगाडि सेल्फी धेरै खिच्नुको कारण देखाउनै लागि मात्र हो भनेर ठोकुवा गर्न भने सकिन्न । आईफोनमा सेल्फी क्यामेराले भन्दा मेन क्यामेराले राम्रो फोटो आउने हुँदा यसरी सेल्फी खिच्ने प्रचलन सुरु भएको तर्क गर्नेहरु पनि छन् ।

यसरी सेल्फी खिच्नुलाई ट्रेन्डको रुपमा आफूले समेत पछ्याएको कान्तिपुर टेलिभिजनकी ‘सेलिब्रेटी’ प्रस्तोता श्री पाण्डे बताउँछिन् । ‘सामान्यतयाः मैले फ्रन्ट क्यामेराबाट सेल्फी खिच्ने गरेकै छैन,’ उनी भन्छिन्, ‘देखाउनकै लागि नभएर फ्रन्ट क्यामेराभन्दा मेन क्यामेरामा फोटो राम्रो आउँछ । त्यसैले आफ्नो फोटो आफैंले खिच्दा सेल्फीको ठाउँमा यो ट्रेन्ड मेरो रोजाई बन्छ ।’

हुन त आईफोन अरुलाई दिएर मेन क्यामेराबाट फोटो खिच्न लगाउन पनि सकिन्छ । तर आफू कस्तो देखिन्छु भन्ने कुरा यसरी फोटो खिच्दा थाहा हुने भएकाले सहज समेत महसुस हुने उनको अनुभव छ ।  त्यसो त फ्रन्ट क्यामेराबाट सेल्फी खिच्दा फोटो खिच्नेको आधा भाग काटिने अथवा हात लामो देखिने समस्या पनि हुन्छ ।

त्यसबाट बच्नको लागि पनि ऐना अगाडि सेल्फी लिने गरिएको तर्क समेत सुनिन्छ । त्यसैगरी आईफोनका केही संस्करणहरूमा फ्रन्ट क्यामेराबाट फोटो खिच्दा तपाईंको फोटो ऐनामा देखिने प्रतिबिम्ब जस्तो आउँछ ।

जसले गर्दा ठ्याक्कै तपाईंले चाहेको जस्तो फोटो नआउन सक्छ अथवा उल्टो देखिने भइदिन्छ । यस्तै तपाईंको साथमा अथवा पृष्ठभूमिमा केही अंक अथवा अक्षरहरू छन् भने ती पनि उल्टोबाट लेखिएको जस्तो देखिन्छ ।

यस्तो समस्या नहोस् भन्नका लागि समेत ऐना अगाडि सेल्फी लिने गरेको पाइन्छ । सामान्यतया आईफोनमा सेल्फी मोडलाई डिफल्ट रुपमा ऐनामा हेरे जस्तो देखिने गरी राखिएको हुन्छ ।

तर तपाईं ऐनामा जस्तो उल्टो प्रतिविम्ब नआओस् भन्ने चाहनुहुन्छ भने आईफोनको क्यामेरा सेटिङमा गएर त्यसलाई मिलाउन सक्नुहुन्छ । पछिल्लो समय ऐना अगाडि सेल्फी खिच्ने यो ट्रेन्ड आईफोन प्रयोगकर्तामा मात्र सीमित नभएर, अन्य मोबाइलका प्रयोगकर्ताले समेत पछ्याइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३