close

टेलिकमको ‘ह्याकिङ’ प्रकरणमा एनसेलले भन्योः लिक भएको सीडीआर झुटो र काल्पनिक

टेकपाना टेकपाना

असार २९, २०७८ १३:०

टेलिकमको ‘ह्याकिङ’ प्रकरणमा एनसेलले भन्योः लिक भएको सीडीआर झुटो र काल्पनिक

काठमाडौं । नेपालकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले लिक भएको भनिएको सीडीआर (कल डिटेल रेकर्ड) लाई झुटो र काल्पनिक बताएको छ । डार्क वेबमा बिक्रीमा राखेको भनिएको नेपाली टेलिकम सेवाप्रदायकको सीडीआरको नमूना विवरणमा एनसेलको नम्बर देखिएपछि कम्पनीले यसलाई स्पष्ट पारेको हो ।

केही दिन अघि एक जना प्रयोगकर्ताले नेपाल सहित पाकिस्तान र फिलिपिन्सका टेलिकम कम्पनीको सीडीआर बिक्रीमा रहेको भन्दै पोस्ट गरेका थिए । तिनै प्रयोगकर्ताबाट मंगलबार टेकपानालाई सीडीआरको स्याम्पल (नमूना प्रति) प्राप्त भएको थियो ।

जसमा कल रिसिभ गर्ने नम्बरहरू एनसेलका देखिएपछि टेकपानाले यस विषयमा कम्पनीको आधिकारिक धारणा मागेको थियो । सोही अनुरोधको आधारमा एनसेलले पछिल्लो स्पष्टीकरण दिएको हो ।

‘प्राविधिक टोलीले जाँच गरेर हेर्दा सीडीआरको नमूनामा उल्लेख गरिएका एनसेलका रिसिभिङ नम्बरहरूको रेकर्ड हाम्रो सीडीआरमा मेल खाएको देखिएन,’ कम्पनीले जवाफमा भनेको छ, ‘यस आधारमा उक्त सिडिआर झुटो र काल्पनिक हो ।’

नेपाल टेलिकमले यस अघि नै उक्त सीडीआर आफ्नो नभएको स्पष्ट पारिसकेको छ । साथै नेपाल टेलिकमको सर्भरमाथि ह्याकिङको आशंका गरिएको छ । यद्यपि यस विषयमा कम्पनीले छानबिन अगाडि बढाइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३