close

अनलाइनमा जागिर खोज्नेहरू बढे, तर बजारमा रोजगारी छैन

टेकपाना टेकपाना

असार २९, २०७८ १८:४६

अनलाइनमा जागिर खोज्नेहरू बढे, तर बजारमा रोजगारी छैन

काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा नै नराम्रो असर परेको छ । जसले गर्दा विश्वभर करोडौँले आफ्नो रोजगारी गुमाएका छन् । यसको अर्थ रोजगार बजारमा काम दिने रोजगारदाताले कामदार खोज्ने क्रम घट्नु र रोजगारीको खोजीमा जुट्नेहरू बढ्नु स्वभाविक नै हुन्छ ।

यसको असर अनलाइन जब प्लेसमेन्ट सेवा प्रदायकहरूको कारोबारमा समेत परेको छ । पछिल्लो समय अनलाइनमार्फत रोजगारी खोज्नेहरूको संख्या बढेको मेरो जब डट कमका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीले बताए । उनका अनुसार पहिलेको तुलनामा हाल रोजगारीमा आवेदन दिनेको संख्या करिब २५ प्रतिशतले बढेको छ ।

‘पहिले रोजगारको माग अनुसारको आवेदन आउथ्यो भने आजभोलि मागको तुलनामा आवेदन दिनेहरूको संख्या धेरै बढेको छ,’ उनले भने , ‘कर्मचारीको मागमा भने केही कमी आएको छ।’

गिरिका अनुसार रोजगार बजारमा गत वर्षको लकडाउनमा करिब ८० प्रतिशत रोकिएको कारोबार यस वर्ष करिब ६० प्रतिशतले ओरालो लागेको छ । कोरोना संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउन गर्दा धेरै उद्योग व्यवसायहरू बन्द भए ।

धेरै जसो कम्पनीहरूले भएका कामदारहरू पनि निकाले । यस्तोमा स्वत: रुपमा कामदारको माग घट्न पुग्यो ।

‘अब अहिले विस्तारै बजार खुल्दै गएको छ र सोही अनुसार कर्मचारीहरूको खोजी पनि भइरहेको छ । यद्यपि आवेदन दिनेहरूको संख्या भने धेरै छ,’ उनले भने, ‘कोरोनाका कारण धेरैको जागिर गएको छ । विदेशबाट फर्किनेहरू पनि धेरै छन् । जसले गर्दा आवेदनहरू धेरै आइरहेका छन् ।’

उनका अनुसार हाल सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित कामहरूको लागि धेरै आह्वान र आवेदनहरू आइरहेका छन् । कोभिडको बीचमा अनलाइन व्यवसायहरू धेरै खुलेका छन् ।

जसले गर्दा डेलिभरी गर्ने लगायतका कामहरूको माग समेत बढेको हाम्रो जबका संस्थापक प्रवेश वाग्लेले बताए । उनका अनुसार कम्पनी तथा संस्थाहरूको प्रशासनिक कामको लागि पनि कर्मचारीको माग बढ्न थालेको उनको भनाई छ ।

‘अर्कोतिर फेरी अनलाइन व्यवसाय गरिरहेका धेरै व्यवसायीहरूले घरमै गएर सुविधाहरू दिने हुँदा यसको लागि पनि कर्मचारीको माग बढेको छ,’ उनले भने ।

यद्यपि पहिलेको तुलनामा भने कर्मचारीको माग घटेको र आवेदन दिनेहरूको संख्या बढेको उनको समेत अनुभव छ । कोरोना सङ्क्रमणको डर तथा अनलाइन प्रणालीको सहजताका कारणले पनि अनलाइनको माध्यमबाट जागिर खोज्नेको संख्या बढ्न थालेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३