close

गुगल लेन्समा नयाँ अपडेट, अब ग्यालरीमा भएका फोटो समेत विश्लेषण गर्ने

टेकपाना टेकपाना

असार ३१, २०७८ १३:३०

गुगल लेन्समा नयाँ अपडेट, अब ग्यालरीमा भएका फोटो समेत विश्लेषण गर्ने

काठमाडौं । गुगल लेन्स एउटा ‘इमेज रिकग्निसन’ अर्थात तस्वीर चिन्न सक्ने सफ्टवेयर हो, जसले लाइभ प्रिभ्यु समेत उपलब्ध गराउँछ । तर अब भने गुगल लेन्सले तपाईंको ग्यालरीमा भएका फोटोहरू पनि एनालाइज अर्थात विश्लेषण गर्नेछ । 

कम्पनीले गुगल लेन्समा हालै गरेको नयाँ अपडेट अनुसार यसले अब ग्यालरीमा पहिले नै सेभ भएर बसेका फोटोहरू र स्क्रिनशटहरूलाई समेत एनालाइज गर्नेछ । यो एन्ड्रोइड प्रयोगकर्ताका लागि कुनै नौलो कुरा त होइन, किनकि यस किसिमको सुविधा डिफल्ट क्यामेरामा पनि छ । 

यद्यपि गुगलले आफ्ना प्रयोगकर्तालाई लाइभ प्रिभ्यु एनालाइजर प्रयोग गर्न प्रेरित गर्दै यो नयाँ अपडेट गुगल लेन्समा राखेको हो । अब तपाईंले गुगल लेन्स खोल्ने वित्तकै क्यामरा नभएर त्यसअघि स्क्रिनको माथिल्लो भागमा “सर्च विथ योर क्यामेरा” भनेर लाइभ प्रिभ्युको अप्सन आउँछ भने स्क्रिनको तल्लो भागमा तपाईंको ग्यालरीमा भएका फोटो तथा स्क्रिनशटहरू देखिनेछन् ।

हुन त गुगल फोटोजमा पनि स्क्रिनशट एनालाइज गर्ने अप्सन छ । यद्यपि एउटै ठाउँमा सबै प्रकारको फोटो रिकग्निसनका कामहरू गर्न भने गुगल लेन्स एकदमै उपयोगी हुने कम्पनीको दाबी छ ।

सर्भरमा आधारित भएको अपडेटका कारण यो अपडेट सबैतिर एकैपटक आउँछ भन्ने चाहिँ छैन । कसैको मोबाइलमा एप अपडेट भइसकेको हुनसक्छ भने कसैको मोबाइलमा अझै अपडेट हुन बाँकी रहेको हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१