close

अब क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स

टेकपाना टेकपाना

असार ३१, २०७८ १९:४९

अब क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स

काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेकाे सुरूकाे एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागेको हो ।

विभागका सूचना अधिकारी लाेकनाथ भुसालले यस्ताे कार्ड परीक्षणकाे क्रममा रहेकाे र अब ट्रायल पास गर्ने नयाँ चालकका लागि वितरण गरिने जानकारी दिए ।

‘विभागले पीभीसी कार्ड परीक्षण गरिरहेकाे छ । अब ट्रायल पास गर्ने चालकलाई एक वर्षसम्मको परीक्षण अवधि तोकेर पीभीसी कार्ड वितरण गर्नेछौं,’ टेकपानासँग उनले भने ।

उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्ने विभागले जनाएकाे छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन् ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

याेसँगै विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गरिनेछ ।

हाल काेराेना महामारीका कारण ट्रायल र नयाँ लाइसेन्स आवेदन बन्द छ । ‘हामी सीसीएमसीको आधिकारिक निर्णय कुरिहेका छौं । स्कुल, कलेज खुलेलगत्तै नयाँ लाइसेन्स आवेदन खुलाउने र ट्रायल सेन्टर सञ्चालनको अनुमति दिने छौं,’ भुसालले भने ।

यसपछि ट्रायल पास गर्ने चालकलाई एक वर्षका लागि पीभीसी कार्ड दिने विभागकाे याेजना छ ।

विभागका अनुसार पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले बार कोड स्क्यान गर्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् ।

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्म यस्ताे कार्ड वितरण गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१