close

बैंकिङ सिस्टम ‘ह्याक’ गर्ने धम्कीविरुद्ध अनुसन्धान सुरू

टेकपाना टेकपाना

साउन ८, २०७८ १७:१०

बैंकिङ सिस्टम ‘ह्याक’ गर्ने धम्कीविरुद्ध अनुसन्धान सुरू

काठमाडौं । नेपालको बैंकिङ सिस्टममाथि साइबर हमला गर्ने भन्दै धम्कीपूर्ण फोन र ईमेल प्रवाह गर्नेविरुद्ध छानबिन सुरु भएको छ । नेपाल राष्ट्र बैंकको आईटी डिपार्टमेन्टसँग समन्वय गरी नेपाल प्रहरीकाे साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।

‘भाइरल हुनका लागि बैंकको सिस्टम ह्याक गर्ने म्यासेज र फोन कल गर्नेविरुद्द अनुसन्धान अघि बढिसकेको छ । त्यस्ताे गतिविधिमा संलग्नकाे पहिचान गर्न साइबर ब्यूरोको टिमलाई हाम्रो आईटी डिपार्टेन्टले सहयोग गरिरहेको छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पोखरेलले टेकपानासँग भने ।

उनले नेपालको बैंकिङ प्रणाली सुरक्षित र सामान्य अवस्थामा सञ्चालन भइरहेको बताउँदै यस्ता अफवाहबाट सतर्क हुन सबैलाई आग्रह गरे ।

बुधबार बेलुकी १६ वटा बैंकहरूको नाम उल्लेख गर्दै सिस्टम ‘कम्प्रोमाइज्ड’ भएको र यो दक्षिण एसियाकै ठूलो ह्याक भएको चेतावनी सहितको मेसेज फैलिए पछि समग्र बैंकिङ क्षेत्र नै त्रसित बनेको थियाे ।

साे मेसेजमा ठूलो क्षति रोक्न चाहने हो भने बिहीबारदेखि सबै बैंक शाखा ४८ घण्टासम्म बन्द राख्न चेतावनी दिइएको छ । अन्यथा २४ घण्टाभित्र एमआईसीआर तथा ईसीआर सिस्टम लगायत अन्य अनलाइन एवम् अफलाइन कारोबार ‘कम्प्रोमाइज्ड’ गर्ने धम्की दिइएको छ ।

यति मात्र होइन ईमेललाई हल्लाको विषय ठानेर मजाक नबनाउन समेत भनिएको थियाे ।

चेतावनी आएसँगै नियामक राष्ट्र बैंकदेखि सबै बैंकले आफ्नो सिस्टम चेकजाँच समेत गरेका थिए । त्यस क्रममा बैंकहरूले आफ्नो सिस्टम डाउन गरेरै अनुसन्धान थालेका थिए । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सिस्टममा त्यस्तो कुनै किसिमको शंकास्पद गतिविधि नदेखिएको भन्दै यो झुटो हल्ला फैलाएर त्रसित पार्ने ‘स्टन्ट’ मात्र भएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५