काठमाडौं । पछिल्लो समय नेपाली युवा पुस्तामाझ बग बाउन्टी निकै नै रुचिको विषय बन्दै गएको छ । गुगल, फेसबुक, ट्वीटरजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूको सिस्टममा रहेका बग अर्थात सुरक्षा कमजोरी फेला पारी आम्दानी गर्ने जमात बढ्दाे छ ।
यसै क्रममा गुगलले नयाँ बग बाउन्टी प्लेटफर्म सञ्चालनमा ल्याएको छ । कम्पनीले जिमेल, ड्राइभ, एन्ड्रोइडलगायतका प्रडक्टमा कमजोरी फेला पार्नेलाई सम्मानस्वरुप रिवार्ड प्रदान गर्न थालेको १० वर्ष पुगेको छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले नयाँ प्लेटर्फम ‘बगहन्टर्स’ सञ्चालनमा ल्याएको हो ।
कम्पनीले सञ्चालनमा ल्याएको ‘बगहन्टर्स’ मार्फत गुगलका प्रडक्टमा देखिएका कमजोरी दर्ता गर्न सकिने छ । ‘नयाँ साइटले हाम्रो सबै प्रडक्टलाई एकै ठाउँमा ल्याएको छ,’ कम्पनीका टेक्निकल प्रोग्राम म्यानेजर जान क्यालरले भनेका छन्, ‘यसले सबै बग हन्टरलाई एकै ठाउँबाट हाम्रा सबै प्लेटर्फमा रहेका कमजोरी पत्ता लगाई सहज रुपमा दर्ता गराउन सहयोग पुग्नेछ ।’
उनका अनुसार यो १० वर्षको अवधिमा गुगलका प्रडक्टमा कूल ११ हजार ५५ वटा कमजोरी फेला परे । जसका लागि कम्पनीले दुई हजार २२ जना बग हन्टरलाई रिवार्ड स्वरुप ३० मिलियन डलरको हाराहारीमा पैसा उपलब्ध गराएको छ ।
क्यालरका अनुसार नयाँ प्लेटटर्फमा धेरै नै परिवर्तन भएको छ । जसले बग हन्टरहरुलाई अझ बढी अन्तर्क्रियात्मक र प्रतिस्पर्धात्मक बनाउने छ । त्यतिमात्रै नभएर देश अनुसारको लिडर बोर्ड र विशेष कमजोरी पत्ता लगाउनेलाई ब्याज प्रदान गरिने छ ।