close

नेपालमै अनलाइन स्टोर खोली कसरी सफल व्यवसायी बन्ने ? थाहा पाउनुहोस् यी चरण

टेकपाना टेकपाना

जेठ १०, २०८२ १३:४०

नेपालमै अनलाइन स्टोर खोली कसरी सफल व्यवसायी बन्ने ? थाहा पाउनुहोस् यी चरण

काठमाडौँ । आजकल अनलाइनमार्फत सामान बिक्री गर्ने स्टोर (ई-कमर्स व्यवसाय) सुरु गर्नु एक निकै नै नाफामूलक र लचिलो व्यावसायिक अवसर बनेको छ । तर, यो व्यवसाय कसरी सुरु गर्ने ? सफल हुन के-कस्ता रणनीति अपनाउनुपर्छ ? र, एउटा प्रभावकारी अनलाइन स्टोर कसरी निर्माण गर्ने ?

यिनै जिज्ञासाहरूलाई सम्बोधन गर्दै यहाँ सफल अनलाइन स्टोर सञ्चालनका लागि नौ मुख्य रणनीतिबारे विस्तृत चर्चा गरिएको छ । यी रणनीतिलाई सही ढङ्गले कार्यान्वयन गरेर तपाईं पनि आफ्नै अनलाइन स्टोर सफलतापूर्वक सञ्चालन गर्न सक्नुहुन्छ ।

व्यापार योजना तयार गर्ने

यस व्यवसायका लागि सबैभन्दा पहिले तपाईंसँग एउटा स्पष्ट व्यापार योजना हुनु जरुरी छ । त्यस व्यापार योजनामा लक्षित ग्राहक समूह, उत्पादन, आम्दानीको मोडेल र लक्ष्य तथा रणनीति राख्नुपर्छ । यस योजनामा तपाईंले आफ्नो लक्षित ग्राहक समूहलाई परिभाषित गर्नुपर्नेछ । त्यसैले तपाईं कुन उमेर समूह, लिङ्ग र स्थानका ग्राहकलाई लक्षित गर्न चाहनुहुन्छ अनि तपाईं सहरी क्षेत्रलाई लक्षित गर्दै हुनुहुन्छ वा ग्रामीण क्षेत्रलाई भन्ने विषय बुझ्नुहोस् ।

त्यसपछि तपाईंले कस्ता प्रकारका उत्पादन बेच्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुपर्छ । खासगरी फेसन, ग्याजेट्स, सौन्दर्य तथा स्वास्थ्य, घर सजावट आदिसँग सम्बन्धित प्रडक्ट बेच्न सक्नुहुन्छ । नेपालको माटो सुहाउँदो मौलिक वा रैथाने उत्पादन बेच्दा त्यो तपाईंका लागि राम्रो विकल्प हुन सक्छ ।

कस्ता प्रडक्ट बेच्ने भन्ने विषय छनोट गर्ने काम तपाईंको बजार अनुसन्धान, प्रतिस्पर्धा, ज्ञान र बजेटमा निर्भर पर्छ । त्यसपछि तपाईंको व्यवसायको आम्दानीको मोडेल निर्णय गर्नुपर्नेछ किनकि तपाईं आफ्नो व्यवसाय कसरी चलाउनुहुन्छ भन्ने कुरा स्पष्ट हुनु जरुरी छ । 

तपाईं प्रत्यक्ष प्रडक्ट बिक्री गर्ने विकल्प रोज्नुहुन्छ वा सब्स्क्रिप्सन मोडेल वा एफिलिएट मार्केटिङको विकल्प रोज्नुहुन्छ भन्ने निर्णय गर्नुहोस् । यसका साथै तपाईंसँग आफ्नो व्यवसायका लागि स्पष्ट वृद्धि रणनीति र लक्ष्य हुनु पनि जरुरी छ । उदाहरणका लागि व्यवसायको पहिलो छ महिनामा तपाईं कसरी सामाजिक सञ्जाल र इन्फ्लुएन्सर मार्केटिङ मार्फत आफ्नो ब्रान्डलाई स्थापित गर्नुहुन्छ भन्नेमा स्पष्ट हुनुपर्छ । त्यस्तै सुरुवाती १२ महिनामा कसरी हजारभन्दा बढी मासिक ग्राहक प्राप्त गर्नुहुनेछ भन्ने कुरा तपाईंलाई थाहा हुनुपर्छ । 

यी सबै बुँदालाई ध्यानमा राखेर तपाईं आफ्नो अनलाइन स्टोरका लागि एक स्पष्ट र बलियो व्यापार योजना तयार गर्न सक्नुहुन्छ । यसले तपाईंलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउँछ ।

आफ्नो क्षेत्र (Niche) छान्नुहोस्

बजार प्रतिस्पर्धाको बीचमा आफ्नो अनलाइन स्टोरलाई पृथक बनाउन तपाईंले आफ्नो विशेष क्षेत्र (Niche) छान्नुपर्छ । र, यो क्षेत्र छान्दा बजारको माग, प्रतिस्पर्धाको विश्लेषण र आफ्नो रुचि तथा लगाबलाई ध्यान दिनुपर्छ । बजारको माग बुझ्नका लागि तपाईंको उत्पादनको श्रेणीमा ग्राहकको रुचि छ कि छैन, तपाईंले रोज्नुभएको क्षेत्रमा कति सम्भावना छ भन्ने जान्न आवश्यक छ ।

यसका लागि तपाईं गुगल ट्रेन्ड्स (Google Trends) प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा तपाईं कुन प्रडक्ट क्याटेगोरी वा ट्रेन्डको सर्च भोल्युम बढी छ भनेर देख्न सक्नुहुन्छ । यस्तै कीवर्ड रिसर्च टुल्स प्रयोग गरेर पनि मानिसले कुन प्रडक्ट र सेवा बढी खोजिरहेका छन् भनेर जान्न सक्नुहुन्छ । त्यसपछि तपाईंले प्रतिस्पर्धाको पनि विश्लेषण गर्नुपर्नेछ । 

बजारमा तपाईंको क्षेत्रमा पहिलेदेखि नै धेरै स्टोर छन् कि छैनन् ? के तपाईंलाई आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर मिल्नेछ ? र यो प्रतिस्पर्धामा तपाईंले आफ्नो यूएसपी (USP - Unique Selling Proposition) लाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्नेछ । त्यसपछि तपाईंले आफ्नो रुचि र विशेषज्ञतालाई ध्यानमा राख्दै आफ्नो क्षेत्र छनोट गर्नुपर्छ । त्यसपछि मात्र तपाईं आफ्ना ग्राहकलाई राम्रो सेवा दिन सक्नुहुन्छ र व्यवसायलाई पनि बढाउन सक्नुहुन्छ । त्यसैले आफ्नो रुचि र विशेषज्ञता पहिचान गर्नुहोस् र त्यसअनुसार फेसन र कपडा, घर सजावट, ग्याजेट्स र इलेक्ट्रोनिक्स र स्वास्थ्य जस्ता क्षेत्रमध्ये सबैभन्दा राम्रो अवसर भएको क्षेत्र छान्नुहोस् । यसरी सबै पक्ष विश्लेषण गरिसकेपछि राम्रो बिक्री गर्न र नियमित ग्राहक सजिलै बनाउन सक्नुहुन्छ ।

प्लेटफर्म छान्नुहोस्

अनलाइन स्टोर सुरु गर्नका लागि तपाईंले प्लेटफर्म छान्नुपर्छ र यो छनोट गर्दा तपाईंले आफ्नो व्यावसायिक लक्ष्य, बजेट र प्राविधिक सीपलाई ध्यानमा राख्नुपर्छ । तपाईं दुई मुख्य विकल्प मध्येबाट छनोट गर्न सक्नुहुन्छ । एउटा आफैंले होस्ट गर्ने वेबसाइट (Self-hosted websites) र तयारी ई-कमर्स प्लेटफर्म (Readymade e-commerce platforms) । यदि तपाईंसँग प्राविधिक ज्ञान छ र आफ्नो वेबसाइटलाई आफू अनुकूल बनाउन समय र स्रोतसाधन उपलब्ध छ भने तपाईं आफैंले होस्ट गर्ने वेबसाइटको विकल्प रोज्न सक्नुहुन्छ । यो विकल्प बढी लचिलो र आफू अनुकूल बनाउन सकिने खालको हुन्छ ।

यसका लागि तपाईं वर्डप्रेस र वु-कमर्स (WooCommerce) को विकल्प लिन सक्नुहुन्छ । वर्डप्रेसमा तपाईं वेबसाइट बनाउन सक्नुहुन्छ भने वु-कमर्स एक निःशुल्क प्लगइन हो जसको मद्दतले तपाईं अनलाइन स्टोर बनाउन सक्नुहुन्छ । यस्तै ओपनकार्ट (OpenCart) साना र मझौला व्यवसायका लागि र म्याजेन्टो (Magento) ठूला व्यवसायका लागि ओपन सोर्स ई-कमर्स प्लेटफर्म हुन् । अर्को विकल्प हो तयारी ई-कमर्स प्लेटफर्म । यस्ता प्लेटफर्म प्रयोगकर्ता-मैत्री हुन्छन् र तपाईंलाई होस्टिङ र मर्मतसम्भारको चिन्ता लिनु पर्दैन । ब्ल्याङ्सर, ओडु जस्ता प्लेटफर्म प्रयोग गरेर रेडिमेड ईकमर्स प्लेटफर्ममा आफ्नो अनलाइन स्टोर सेटअप गर्न सक्नुहुन्छ । 

डोमेन नेम र होस्टिङ खरिद गर्नुहोस्

अनलाइन स्टोरको अनलाइन भिजिबिलिटी, प्रयोगकर्ता अनुभव र समग्र सफलतामा डोमेन नेम र होस्टिङले प्रत्यक्ष असर पार्छ । त्यसैले यिनीहरू छनोट गर्दा केही कुरामा ध्यान दिनुहोस् । डोमेन नेम भनेको तपाईंको व्यवसायको अनलाइन ठेगाना हो । त्यसैले यो पृथक र सबैको नजरमा पर्ने किसिमको हुनुपर्छ । उदाहरणका लागि महको व्यापार गर्दै हुनुहुन्छ भने ‘honeystore.com’ जस्तो डोमेन नेम राख्नुहोस् । 

डोमेन नेम यस्तो छान्नुहोस् जुन आकर्षक र सम्झन सजिलो होस् । र, त्यो तपाईंको व्यवसायसँग सम्बन्धित हुनुका साथै उच्चारण गर्न पनि सजिलो होस् । यसमा हाइफन (-) र अंकहरूको प्रयोग नगर्दा राम्रो हुन्छ र सम्भव भएमा ‘.com’ एक्सटेन्सन छान्नुहोस् । यसका लागि तपाईं कैलाश क्लाउड, नेस्ट नेपाल, बबाल होस्ट, हिमालय होस्ट जस्ता नेपाली डोमेन प्रदायक कम्पनीलाई सम्पर्क गर्न सक्नुहुन्छ । 

त्यसपछि वेब होस्टिङ छान्नुहोस् । यो होस्टिङ सेवाले तपाईंको वेबसाइटलाई इन्टरनेटमा लाइभ राख्छ र तपाईंले आफ्नो वेबसाइटका लागि छिटो, भरपर्दो र सुरक्षित होस्टिङ सेवा छान्नुपर्छ । यसले गर्दा तपाईंको स्टोर सहज रूपमा चल्न सक्छ । यसका लागि माथि उल्लेख भएका डोमेन प्रदायकसँग सम्पर्क गर्न सक्नुहुन्छ । यदि डलर कार्ड वा पेपालको विकल्प छ भने विदेशी प्लेटफर्म पनि छान्न सक्नुहुन्छ । 

यसरी तपाईं डोमेन र होस्टिङ खरिद गर्न सक्नुहुन्छ र आफ्नो खरिद गरिएको डोमेनलाई आफ्नो होस्टिङ खातामा जोड्न सक्नुहुन्छ ।

अनलाइन स्टोर सेटअप गर्नुहोस्

अब तपाईं आफ्नो अनलाइन स्टोर सेटअप गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले स्टोरको डिजाइन, उत्पादनको सूची, भुक्तानी गेटवेको इन्टिग्रेट र डेलिभरी विकल्प छान्नुपर्ने हुन्छ । तपाईंको स्टोरको डिजाइन सरल र प्रयोगकर्ता-मैत्री हुनुपर्छ ताकि आगन्तुकलाई चलाउन सजिलो होस् । तपाईंको उत्पादन सजिलै फेला पार्न सकियोस् र वेबसाइटको रूपरेखा पनि निकै प्रयोगकर्ता-मैत्री होस् । तपाईंको स्टोर मोबाइल-मैत्री पनि हुनुपर्छ र तपाईंको स्टोरको थिमले तपाईंको ब्रान्डको पहिचान झल्काउनुपर्छ । 

यी सबै कुरालाई ध्यानमा राखेर स्टोर डिजाइन गर्नुहोस् । त्यसपछि उत्पादन सूचीकरणका लागि उच्च गुणस्तरका उत्पादन तस्वीर नै अपलोड गर्नुहोस् । हरेक उत्पादनका लागि विस्तृत विवरण प्रदान गर्नुहोस्, जसमा उत्पादनको आकार, नाप, सामग्री, रङ विकल्प र ढुवानी विवरण जस्ता जानकारी समावेश हुनुपर्छ । त्यसपछि भुक्तानी गेटवे एकीकरण गर्दा ग्राहकका लागि विभिन्न भुक्तानी विकल्पहरू दिनुहोस् जुन सुरक्षित र प्रयोगकर्ता-मैत्री पनि हुन् । यसका लागि ईसेवा, खल्ती, आईएमई पे, हाम्रो पे, नेपाल पे, कनेक्ट आईपीएस जस्ता विकल्प राख्न सक्नुहुन्छ । र, तपाईंको स्टोरमा डेलिभरी विकल्प र ढुवानी सेटिङ मिलाउनु पनि जरुरी छ । ढुवानी क्षेत्र, ढुवानी लागत र डेलिभरी समय जस्ता विवरण तपाईंले स्टोरमा उल्लेख गर्नुपर्ने हुन्छ । 

यसका लागि तपाईं नेपाल क्यान मुभ, उपाय, पिक एन्ड ड्रप्स नेपाल आदि प्रयोग गर्न सक्नुहुन्छ ।

उत्पादन मौज्दात र आपूर्ति व्यवस्थापन

आफ्नो अनलाइन स्टोरका लागि यदि तपाईं आफै उत्पादन (manufacturing) गर्नुहुन्न भने आफ्ना उत्पादनका लागि तपाईंले भरपर्दा आपूर्तिकर्ता छनोट गर्नुपर्नेछ । यसका लागि तपाईंले आफ्ना उत्पादन ड्रप शिपिङ मोडेलमार्फत बेच्न चाहनुहुन्छ वा आफ्नो मौज्दात आफैं व्यवस्थापन गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुपर्छ । किनकि ड्रप शिपिङ मोडेलमा तपाईंले मौज्दात आफैं व्यवस्थापन गर्नुपर्दैन । जब ग्राहकले तपाईंको अनलाइन स्टोरबाट उत्पादन किन्छ तब तपाईंको आपूर्तिकर्ताले सीधै ग्राहकलाई उत्पादन डेलिभर गरिदिन्छ । तपाईंले केवल उत्पादनको सूचीकरण, बजारीकरण र बिक्रीमा ध्यान केन्द्रित गर्नुपर्छ । यो मोडेलमा प्रारम्भिक लगानी कम हुन्छ । 

यदि तपाईं आफैं उत्पादन व्यवस्थापन गर्नुहुन्छ भने तपाईंले स्थानीय आपूर्तिकर्तासँग साझेदारी गर्नुपर्ने हुन्छ । यसमा आफ्नो मौज्दात व्यवस्थापन गर्नका लागि तपाईंसँग गोदाम वा भण्डारण ठाउँ हुनु जरुरी हुन्छ । यो मोडेल प्रयोग गर्नाले तपाईं छिटो डेलिभरी गर्न सक्नुहुन्छ र आफ्ना उत्पादनको गुणस्तर सिधै निगरानी गर्न सक्नुहुन्छ । अब तपाईंको लागि कुन मोडेल सही रहन्छ, यो तपाईं आफैं निर्णय गर्नुहोस् ।

कानुनी आवश्यकताहरू पूरा गर्नुहोस्

२ वैशाख २०८२ देखि नेपालमा विद्युतीय व्यापार (ई-कमर्श) कानून) कार्यान्वयनमा आएको छ । अनलाइन स्टोर सञ्चालन गर्नका लागि तपाईंले केकस्ता मापदण्ड पूरा गर्नुपर्छ भन्ने विस्तृतमा बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो व्यवसायको सहज सञ्चालन र सुरक्षाका लागि कानुनी आवश्यकता पूरा गर्नु पनि जरुरी हुन्छ । त्यसैले तपाईंले व्यवसाय दर्ता, कर, नियम र सर्त र ई-कमर्स कानुनलाई ध्यान दिनुहोस् । आफ्नो व्यवसाय दर्ता गर्नुहोस् । दर्ता गर्दा एकल स्वामित्व (Sole Proprietorship), साझेदारी (Partnership) वा सीमित दायित्व कम्पनीको रूपमा दर्ता हुन सक्छ । 

आफ्नो व्यवसाय अनुसार तपाईंले बिक्री कर र आयकर जस्ता कर दायित्वलाई पनि बुझ्नुपर्छ । आफ्नो अनलाइन स्टोरका नियम र कानुन बताउनका लागि तपाईंले एक स्पष्ट नियम र सर्तको पेज (Terms and Conditions page) पनि बनाउनुपर्छ । र यसका साथै, गोपनीयता नीति (Privacy Policy) र फिर्ता तथा सटही नीति (Refund and Return Policies) का लागि पेज बनाउनु पनि जरुरी छ । यदि तपाईं आफैंले बनाएका उत्पादनहरू बेच्दै हुनुहुन्छ भने,\ आफ्नो ब्रान्डलाई सुरक्षित गर्न बौद्धिक सम्पत्ति (IP) संरक्षणको प्रयोग गर्नुहोस् । यसका लागि आफ्नो ब्रान्ड नाम, लोगो, र मौलिक उत्पादन डिजाइनको ट्रेडमार्क गराउनुहोस् । यसका साथै आफ्नो व्यवसाय अनुसार ई-कमर्स नियमहरू पनि पूरा गर्नुहोस् ।

बजारीकरण र प्रवर्द्धन रणनीति

आफ्नो अनलाइन स्टोरलाई सफल बनाउन बजारीकरण (Marketing) धेरै महत्त्वपूर्ण छ । किनकि बजारीकरण मार्फत नै तपाईं आफ्ना उत्पादनलाई सम्भावित ग्राहकसम्म पुर्‍याउन सक्नुहुन्छ र आफ्नो ग्राहक आधार निर्माण गर्न सक्नुहुन्छ । यसका लागि तपाईं सोसल मिडिया मार्केटिङ, ईमेल मार्केटिङ, इन्फ्लुएन्सर मार्केटिङ, एसईओ र सशुल्क विज्ञापन रणनीति प्रयोग गर्न सक्नुहुन्छ । सोसल मिडिया मार्केटिङका लागि तपाईं इन्स्टाग्राम, फेसबुक, पिन्टरेस्ट र एक्स जस्ता प्लेटफर्ममा आफ्ना उत्पादन पोस्ट गर्न सक्नुहुन्छ ।

ईमेल मार्केटिङका लागि तपाईं आफ्नो वेबसाइटमा आगन्तुकबाट ईमेल सङ्कलन गर्न सक्नुहुन्छ र आफ्ना ग्राहकलाई नियमित न्यूजलेटर पठाउन सक्नुहुन्छ । साथै व्यक्तिगत ईमेल मार्फत अफर र रिमाइन्डर पठाउन सक्नुहुन्छ । यस्तै तपाईं आफ्नो क्षेत्रसँग सम्बन्धित प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सरहरू) को मद्दतले इन्फ्लुएन्सर मार्केटिङ पनि गर्न सक्नुहुन्छ । आफ्नो अनलाइन स्टोर अर्थात् वेबसाइटलाई एसईओ-मैत्री बनाएर तपाईं वेबसाइटको सामग्रीलाई अप्टिमाइज गर्न सक्नुहुन्छ जसले गर्दा ग्राहकसम्म यसको पहुँच बढाउन सकिन्छ । र सशुल्क विज्ञापन रणनीति प्रयोग गर्दै तपाईं फेसबुक एड्स र गुगल एड्स मार्फत आफ्नो स्टोरको प्रवर्द्धन गर्न सक्नुहुन्छ ।

ग्राहक सहायता र विश्लेषणलाई महत्त्व दिनुहोस्

ग्राहक सहायताको गुणस्तरले तपाईंको स्टोरको प्रतिष्ठामा सीधै असर पार्छ । त्यसैले आफ्ना ग्राहकलाई समयमै र सहयोगीपूर्ण सहायता दिनुहोस् । र प्रभावकारी ग्राहक सहायताका लागि तपाईं आफ्नो वेबसाइटमा लाइभ च्याट सुविधा थप्न सक्नुहुन्छ । त्यसका लागि एक सहायता ईमेल एड्रेस बनाउन सक्नुहुन्छ र प्रायः सोधिने प्रश्न (FAQs) को खण्ड बनाएर त्यसमा सामान्य जिज्ञासा र समस्याको समाधान दिन सक्नुहुन्छ ।

यस्तै आफ्नो स्टोरको प्रदर्शनलाई निरन्तर निगरानी गर्नु पनि धेरै जरुरी छ ताकि तपाईं आफ्ना रणनीतिमा सुधार गर्न सक्नुहोस् र आफ्नो व्यवसायलाई बढाउन सक्नुहोस् । नियमित पर्फमेन्स ट्रयाक गर्न गुगल एनालिटिक्स प्रयोग गरेर आफ्नो वेबसाइटको ट्राफिक, प्रयोगकर्ताको व्यवहार र रूपान्तरण दरलाई ट्र्याक गर्न सक्नुहुन्छ । यसले गर्दा कुन पेजमा बढी भिजिटर आइरहेका छन् र कुन प्रडक्ट खरिद गरिरहेका छन् भन्ने थाहा हुन्छ । र, त्यही अनुसारका प्रडक्ट राखेर अनलाइन स्टोरलाई विस्तार गर्न सकिन्छ । सर्वेक्षण र समीक्षामार्फत ग्राहक प्रतिक्रिया पनि लिनुहोस् । यसो गर्दा तपाईंलाई आफ्ना उत्पादन र सेवामा सुधार गर्न मद्दत मिल्छ ।

यसरी आफ्नो अनलाइन व्यवसाय स्टोर सुरु गर्नका लागि तपाईं यी नौ प्रभावकारी तरिका अपनाउन सक्नुहुन्छ । अर्थात् आफ्नो अनलाइन स्टोर खोल्नका लागि तपाईं व्यापार योजना तयार गर्नुहोस्, आफ्नो क्षेत्र छान्नुहोस्, प्लेटफर्म छान्नुहोस्, डोमेन नेम र होस्टिङ खरिद गर्नुहोस्, अनलाइन स्टोर सेटअप गर्नुहोस्, उत्पादन मौज्दात र आपूर्ति व्यवस्थापन गर्नुहोस्, कानुनी आवश्यकता पूरा गर्नुहोस्, बजारीकरण र प्रवर्द्धन रणनीतिहरू बनाउनुहोस् र ग्राहक सहायता तथा विश्लेषणलाई महत्त्व दिनुहोस् । यसरी यी विविध तरिका अपनाएर तपाईं आप्नो व्यवसायलाई सफल बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १३:५१