काठमाडौं । बालबालिकालाई लामो समयसम्म गेम खेल्नबाट रोक्न चिनियाँ गेमिङ कम्पनी टेन्सेन्टले नयाँ कदम चालेकाे छ । विभिन्न सञ्चारमाध्यमा बालबालिका अनलाइन गेमिङ लतमा फसेको भन्दै समाचार प्रकाशित भएपछि कम्पनीले बालबालिकाले कति समयसम्म मात्र गेम खेल्न पाउने भनेर नियन्त्रण गर्ने प्रणालीको विकास गरेको छ ।
सम्बन्धित सरोकारवालाहरूको धेरै अनुरोध आएको र कम्पनीले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै साना बालबालिकाको गेमिङमा नियन्त्रण गर्न लागेको कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत जनाएकाे छ ।
सुरुवाती चरणमा यो समयको प्रतिबन्ध टेन्सेन्टको फ्ल्यागसिप गेम ‘अनर अफ किङ्गस’ मा मात्र लागू हुनेछ । कम्पनीका अनुसार १२ वर्षभन्दा मुनीका बालबालिकाका लागि सामान्य समयमा खेल्ने अवधि डेढ घण्टाबाट एक घण्टा बनाइएको छ भने होलिडेको समयमा खेल्ने अवधि तीन घण्टाबाट दई घण्टामा सीमित गरिएको छ ।
त्यस्तै १२ वर्षभन्दा मुनीका बालबालिकालाई आफूभन्दा ठूला व्यक्तिकाे अकाउन्टबाट खेल्न पनि प्रतिबन्ध लगाउने कम्पनीले बताएको छ ।
यससँगै टेन्सेन्टले गेमिङ क्षेत्रका सम्पूर्ण सरोकारवालालाई बालबालिकालाई अनलाइन गेमिङको कुलतबाट बचाउनको लागि मिलेर काम गर्न प्रस्ताव राखेको छ ।
टेन्सेन्टले राखेको प्रस्तावमा गेमिङको लतलाई छुट्टाउन बलियो व्यवस्थापन गर्ने र १२ वर्षमुनीका बालबालिकाका लागि अनलाइन गेमिङ पूर्णरुपमा बन्द गर्ने रहेको छ ।