close

अब नेपालमै ब्याचलर्स र मास्टर्समा एआई पढ्न पाइने

टेकपाना टेकपाना

साउन २६, २०७८ ११:३७

अब नेपालमै ब्याचलर्स र मास्टर्समा एआई पढ्न पाइने

काठमाडौ । काठमाडौं विश्वविद्यालयले अर्को महिनादेखि नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्स लेभलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पढाइ सुरु गर्ने भएको छ ।

स्थानीय तथा विश्वव्यापी रुपमा यस क्षेत्रसँग सबन्धित विशेषज्ञ उत्पादन गर्ने उद्देश्यसहित केयूको स्कुल अफ इन्जिनियरिङ अन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

इन्जिनियरिङ वा कम्प्युटर साइन्समा पढाउने परम्परागत शैक्षिक कार्यक्रमभन्दा यो पृथृक रहेको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख बालकृष्ण बालले बताए ।

‘पुरानो परम्परागत शैक्षिक कार्यक्रम विपरित हामीले यसमा पहिलो सेमेस्टरबाटै स्पेसलाइज्ड कोर्ष समावेश गरेका छाैं,’ उनले भने, ‘यसकारण याे चार वर्षे कोर्ष अन्य इन्जिनिरयरिङ र कम्प्युटर साइन्सका कोर्षभन्दा फरक छ । हामीले चाहिने चाहिने कम्पोनेन्टमात्र समावेश गरेका छौं ।’

यो कार्यक्रमबाट विशुद्ध प्राविधिक जनशक्ति मात्र उत्पादन गर्ने नभई सामाजिक विषय बुझ्न सक्ने र त्यसमा एआईको प्रयोग कार्यान्व्यनमा गर्न सक्ने जनशक्ति विकास हुने उनले बताए ।

हाल प्रस्तावित भर्ना सिटहरुको कुल संख्या ब्याचलर्स लेभलमा ३० र मास्टर्स लेभलमा १० रहेको छ । नेपालको शैक्षिक हबको रुपमा विकसित हुँदैै गरेको काभ्रेको पाँचखालमा आवासीय मोडमा सञ्चालन गरिनेछ ।

ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई)

यो कार्यक्रमले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नेछ । यस कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाइको माध्यमबाट विद्यार्थीहरुले ज्ञानको अनुभव लिन पाउने उल्लेख गरिएको छ ।

यस कार्यक्रम पढेपछि एआई प्रविधि र विधिहरु प्रयोग गरी यस कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थाहरुमा डेटामा आधारित निर्णय कार्यान्वयन गर्न सकिने जनाइएको छ ।

त्यसैले यो कोर्षमा सम्बन्धित विद्यार्थीहरुले विभिन्न डेटा विश्लेषण गर्न सक्नुका साथै स्वचालित मसिन प्रविधि निर्माण गर्न सक्नेछन् । यो कार्यक्रम प्राविधिक आधारभूत प्रोग्रामिङ्ग, कम्प्युटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट सुरु हुने जनाइएको छ ।

विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाका साथै पछि कुनै परिप्रेक्ष्यको खोज, गेम डेभलपमेन्ट, मसिन लर्निङ, न्यूरल नेटवर्क, कम्प्युटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

तसर्थ, यो कार्यक्रमलाई विज्ञान र इन्जिनियरिङभन्दा फरक र सही अर्थमा भन्दा दुवैको मिश्रण मान्न सकिन्छ । यो कार्यक्रम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता गरिएको छैन, जसका कारण विश्वव्यापी प्रतिष्ठित विश्वविद्यालयहरुमा अभ्यास गरिएको विशेषज्ञता सम्बन्धी कोर्षहरु आवश्यकतानुसार प्रथम वर्षदेखि नै पाठ्यक्रमहरुमा राख्न सक्ने लचकता छ ।

काठमाडौ विश्वविद्यालयको पुरै चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख निर्धारण गरिएको छ ।

मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई)

यो कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डेटा विज्ञान र एआई अध्ययनसँग सम्बन्धित अभ्यासहरुका लागि लक्षित छ, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

विशेषतः तीन मुख्य विषयवस्तुहरु यसमार्फत् कभर गरिनेछ, Neural Networks, Fuzzy system, Evolutionary Computation, जुन इन्टिलिजेन्ट प्रणालीको मेरुदण्ड हुन् ।

यस कार्यक्रमको पाठ्यक्रमभित्र मुख्यतया Machine Learning, Neural Networks, Big Data Analytics, Information Retrieval, Fuzzy Systems र Evolutionary Computation समावेश गरिएको छ ।

यस कार्यक्रमले विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङसँग सम्बन्धित व्यवहारिक जीवनका समस्यासँग लड्नका लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ ।

यस दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क रु तीन लाख ९५ हजार निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३