काठमाडौं । क्लाउडमा स्टोर भएका यौन दुर्व्यवहारसँग सम्बन्धित बालबालिकाका फोटो पत्ता लगाउन आईफोन र आईप्याडहरू स्क्यान गर्ने एप्पलको योजनाविरुद्ध हजारौंले विरोध जनाएका छन् ।
प्राविधिक सुरक्षा तथा गोपनीयताका अभियान्ताहरूको एक समूहले प्रकाशन गरेको खुला पत्रमा हजारौं मानिसले समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् ।
एप्पलको यो कदमले प्रयोगकर्ताको गोपनीयतामा असर गर्नेभन्दै सो समूहले एप्पलको नाममा खुला पत्र गत हप्ता अनलाइनमार्फत प्रकाशन गरेको थियो ।
खुला पत्रको समर्थन गर्दै सोमबार दिउँसोसम्म करिब तीन दर्जन संस्थाहरूले संस्थागत समर्थनको हस्ताक्षर र करिब सात हजारले हस्ताक्षर गरेका थिए ।
गत हप्ता नै एप्पलले आईफोन र आईप्याडको क्लाउड स्टोरेज स्क्यान गर्ने र यदि कुनै प्रयोगकर्ताको डिभाइसमा बालबालिका दुर्व्यवहार सम्बन्धी कुनै तस्वीरू फेला पारेमा नेसनल सेन्टर फर मिसिङ एण्ड एक्स्प्लोइटेड चिल्ड्रेनमा रिपोर्ट गर्ने घोषणा गरेको थियो ।
त्यस्तै सो व्यक्तिको अकाउन्ट पनि डिसेबल गर्ने एप्पलले बताएको थियो ।
यही घोषणापछि एप्पलले व्यक्तिगत गोपनीयतालाई उल्लघंन गर्न खोजेको भन्दै सरोकारवालाहरूले यो योजनाको विरोध गर्दै आइरहेका छन् ।
यस नीति बालबालिकाको दुर्व्यवहारभन्दा पनि प्रयोकर्ताहरूको व्यापक रुपमा निगरानी राख्नसक्ने अभियान्ताकाे तर्क छ । बालबालिकामाथि हुने दुर्व्यवहारको निगरानी राख्ने नाममा एप्पलले गोपनीयता तथा सुरक्षाका प्रोटोकलहरू उल्लघंन गर्न खोजेको उनीहरूले बताएका छन् ।
खुला पत्रमार्फत सरोकारवालाहरूले एप्पललाई आफ्नो योजना लागू नगर्न अनुरोध गरेका छन् । खुला पत्रको विषयमा एप्पलले कुनै आधिकारिक धारणा दिएको छैन । बालबालिकामाथि भइरहेको दुर्व्यवहार रोक्न भन्दै एप्पलले आईफोन र आईप्याडका फोटोहरू स्क्यान गर्ने घोषणा गरेको थियो ।